अन्तर्राष्ट्रिय

पहिलो पटक उत्तर र दक्षिण कोरियाका राष्ट्रपति भेट्दै

सोल – उत्तर र दक्षिण कोरियाका उच्च अधिकारीहरुको बैठक बिहीबार बस्ने भएको छ। यसै महिनाको अन्त्यतिर हुन लागेको दुई कोरियाको शिखर सम्मेलनको तयारीका लागि उनीहरूको बैठक हुन लागेको हो। 

उत्तर कोरियाका नेता किम जोङ उन र दक्षिण कोरियाका राष्ट्रपति मुन जाय इनका बीचमा पहिलो पटक अप्रिल २७ तारिखमा भेटवार्ता हुन लागेको हो। 

दुई कोरियाबीचको संघर्ष अन्त्य गर्नका लागि भन्दै आयोजना गरिएको उत्तर कोरिया शिखर सम्मेलनका क्रममा उनीहरुको भेटवार्ता हुने भएको हो । 

त्यही सम्मेलनको तयारीका लागि व्यवस्थापकीय तहको बैठक बिहीबार बस्न लागेको दक्षिण कोरियाको राष्ट्रपतिको कार्यालयका अधिकारीहरुले जानकारी दिएका छन्। 

मर्यादाक्रम, सुरक्षा व्यवस्था, सञ्चारमाध्यमको व्यवस्थापन लगायतका विषयमा यो बैठकमा छलफल हुने बताइएको छ। 

सम्मेलनमा सहभागी हुने नेता किमको यातायातको व्यवस्थापन कसरी गर्ने भन्ने विषयमा पनि बैठक केन्द्रित हुने भएको छ । 

दुबै देशको सीमानामा पर्ने दक्षिण कोरियातर्फको पान्मुन्जोममा रहेको पिस होममा शिखर सम्मेलन हुने तय भएको छ। 

प्रकाशित: २२ चैत्र २०७४ ०९:४४ बिहीबार

पहिलो पटक उत्तर दक्षिण कोरियाका राष्ट्रपति भेट्दै