अन्तर्राष्ट्रिय

चीनको हाइनानमा एक दशकयताकै शक्तिशाली समुद्री आँधी

चीनको दक्षिणमा रहेको एक लोकप्रिय पर्यटक टापु पछिल्लो एक दशकको सबैभन्दा शक्तिशाली समुद्री आँधीबाट प्रभावित भएको छ। आँधीका कारण यो क्षेत्रले विनाशकारी हावाहुरी र मुसलधारे वर्षाको सामना गरिरहेको छ।

सुपर टाइफुन यागी शुक्रबार स्थानीय समय अनुसार ४ बजे २२३ किलोमिटर प्रति घण्टाको रफ्तारका साथ हाइनान टापुको उत्तर पूर्वमा रहेको वेनचाङ सहरमा प्रवेश गरेको थियो।

४६ जनाको ज्यान जाने गरी सन् २०१४ मा आएको राममासुनपछि हाइनानमा प्रवेश गर्ने यागी सबैभन्दा शक्तिशाली समुद्री आँधी हो। चीनको मौसम एजेन्सीले शरद ऋतुमा आएको यो सबैभन्दा शक्तिशाली आँधी भएको बताएको छ।

यागीको आगमन अघि हाइनान टापुका करिब चार लाख मानिसलाई सुरक्षित स्थानमा सारिएको थियो। रेल, डुङ्गा र उडानहरू निलम्बित गरियो भने स्कुलहरू बन्द गरियो।

यस हप्ताको सुरुमा उत्तरी फिलिपिन्समा विनाश गरेपछि यागीको शक्ति दोब्बर भएको छ। यागी यो वर्षको अहिलेसम्मको दोस्रो सबैभन्दा शक्तिशाली पनि आँधी हो। 

मौसमविद्हरूले यागीले चीनको सबैभन्दा बढी जनसङ्ख्या भएको प्रान्त पनि हाइनान र छिमेकी ग्वाङडोङमा ठुलो क्षति पुर्‍याउन सक्ने चेतावनी दिएका छन्।

यागी एक ‘अत्यन्त खतरनाक र शक्तिशाली’ सुपर टाइफुन भएको इन्डो(प्यासिफिक ट्रपिकल साइक्लोन वार्निङ सेन्टरले बिहीबार चेतावनी दिएको थियो। एक सुपर टाइफुन श्रेणी ५ हरिकेन बराबर छ।

 -एजेन्सी

प्रकाशित: २२ भाद्र २०८१ ०८:०२ शनिबार