अन्तर्राष्ट्रिय

खाद्य संकटबाट गुज्रिरहेको नामिबियाले ७ सय जनावर मार्दै

अफ्रिकी मुलुक नामिबियाले आफ्ना नागरिकको भोक मेटाउन ७ सय जनावर मार्ने तयारी गरेको छ।

हालसम्मकै सबैभन्दा ठूलो खडेरीको चपेटामा परेको नामिबियामा खाद्य संकट उत्पन्न भएपछि ७ सय जनावर मार्न लागेको हो।

खडेरीका कारण नामिबियाको ८४ प्रतिशत खाद्य भण्डार नष्ट भएको छ। जसका कारण त्यहाँका २० लाख ५० हजार नागरिक खाद्यान्नसँग सम्बन्धित गम्भीर संकटको सामना गरिरहेका छन्।

उक्त समस्यालाई ध्यानमा राखी नामिबिया सरकारले आफ्ना नागरिकलाई मासुजन्य पदार्थको पूर्ति गर्नका लागि ७ सय जनावर मार्ने तयारी गरेको छ। जसमा हात्ती, घोडा, भैँसी, हरिनसहितका जंगली जनावर रहेका छन्। १५० भन्दा बढी जनावर यसअघि नै मारिएका छन्। मारिएका जनावरबाट बनेको ६३ टन मासु खडेरी प्रभावित क्षेत्रमा पठाइएको थियो।

नामिबियाको पर्यावरण एवं पर्यटन मन्त्रालयले एक वक्तव्य जारी गर्दै देशमा उत्पन्न यस संकटबाट राहत पाउनका लागि संविधान अनुरुप यो कदम उठाएको बताएको छ।

नामिबियामा हुने खडेरीको कारण?

नामिबिया खडेरीग्रस्त अफ्रिकीमा अवस्थित मुलुक हो। र यहाँ प्रायः यस्ता प्राकृतिक विपत् निम्तिरहन्छ। सन् २०१३, २०१६ र २०१९ मा भयावह खडेरीका कारण राष्ट्रिय आपतकाल घोषणा गरिएको थियो। युरोपियन युनियनको एक प्रतिवेदन अनुसार सन् २०२३ मा बोत्सवानामा सुरु भएको खडेरीले हालसम्म अङ्गोला, जाम्बिया, जिम्बाब्वे र नामिबियालाई आफ्नो चपेटामा लिइसकेको छ।

नामिबिया लगायत क्षेत्र मुख्य रुपले अल निनोका कारण खडेरीको चपेटामा आएको बताइएको छ। जुन महासागर क्षेत्रमा अत्यधिक गर्मी र सुक्खा मौसमको ढाँचासँग सम्बन्धित मौसमी प्रणाली हो। ७ वर्ष पछि फेरि अल निनोको प्रभाव उक्त क्षेत्रमा देखिएको छ। जसले गर्दा समग्र क्षेत्रमै तापमान औसतभन्दा बढी भएको छ र वर्षा पनि कम भएको छ। साथै जलवायु परिवर्तनका कारण पनि पृथ्वीको तापक्रम बढिरहेको छ। जसकाृ परिणामस्वरुप विश्वका विभिन्न भागमा खडेरी र बाढी जस्ता प्राकृतिक विपति आएको छ।

प्रकाशित: १७ भाद्र २०८१ १२:५७ सोमबार

#namibia #700 animals