अन्तर्राष्ट्रिय

राजकुमारको भत्ता कटौती हुने

बेल्जियमका राजकुमार लरेन्ट ।

ब्रसेल्स–बेल्जियमका राजकुमार लरेन्टले पाइरहेको एक वर्षको मासिक भत्तामा कटौती गरिएको छ।

बेल्जियको संघीय संसद्ले राजकुमार लरेन्टको भत्तालाई रोक्नेबारेमा मतदानमार्फत पारित गरेको हो । सरकारको अनुमति बिना जल सेनाको पूर्ण पोसाकमा गत वर्ष चिनियाँ दूतावासले आयोजना गरेको एउटा भोजमा सहभागी भएको भन्दै बेल्जियमको संसद्ले राजकुमार लरेन्टले पाइरहेको भत्तामा कटौती गरेको बताइएको छ।

बेल्जियमका संघीय संसद्का सांसदहरुले राजकुमार लरेन्टलाई सरकारले प्रदान गर्दै आएको भत्तामा वार्षिक १५ प्रतिशतका दरले कटौती गर्ने पक्षमा मतदान गरेका हुन् । राजकुमार लरेन्टले हाल वार्षिक रूपमा तीन लाख ८७ हजार डलर भत्ता पाइरहेका थिए।

बेल्जियमका प्रधानमन्त्री चाल्र्स मिचेलको प्रस्तावमा राजकुमार लरेन्टको भत्ता कटौती गर्नेबारेमा संसद्ले कदम चालेको बताइएको छ । प्रधानमन्त्री मिचेलले राजकुमार लरेन्टलाई कुनै पनि कूटनीतिक गतिविधि गर्नु पूर्व विदेश मन्त्रालयको अनुमति लिन चेतावनी दिएका थिए । प्रधानमन्त्री मिचेलको चेतावनीलाई  वेवास्ता गर्दै राजकुमार लरेन्ट चिनियाँ दूतावासको कार्यक्रममा सहभागी भएका थिए र कार्यक्रममा सहभागी भएको फोटो आफैले ट्विटसमेत गरेका थिए।

बेल्जियमका राजा फिलिपका कान्छा भाइ राजकुमार लरेन्टले आफ्नो भत्ता कटौतीबारेमा संसद्मा मतदान हुनु पूर्व राजपरिवारको सदस्य भएको नाताले आफूले बाँच्नका लागि कामसमेत गर्न नपाएको भन्दै एउटा लामो भावुक पत्र लेखेका थिए । उनले संसद्मा हुने मतदानलाई आफ्नो जीवनको परीक्षण भएको भन्दै सांसदहहरुले आफ्नो विपक्षमा मतदान गरे त्यसबाट आफू अन्यायमा पर्ने बताएका थिए।

‘भत्ता घटाउने बारेमा जुन छलफल चलिरहेको छ त्यो राजनीतिक वा सञ्चारमाध्यमको तरंगका कारण हो  र त्यो जीवनको मूल्य हो, मेरो जीवनको मूल्य हो जुन मेरो विपक्षमा रहेको छ,’ उनले लेखेको लामो भावुक पत्रमा जनाइएको थियो ।५४ वर्षे राजकुमार लरेन्टले आर्थिक रूपमा स्वतन्त्र हुने उनको प्रयासलाई राजपरिवारले अवरोध पैदा गरेको समेत पत्रमा उल्लेख गरेका थिए ।

‘मैले विवाह गर्नसमेत अनुमति लिन पर्छ, र आफूले माया गरेको महिला छनौट गरेकोमा कुनै उपाधि बिना नै आज पनि त्यसको मूल्य तिरिरहेको छु,’ आफ्नो आत्मसुरक्षा गर्दै उनले लेखेको तीन पृष्ठ लामो पत्रमा जनाइएको थियो । राजकुमार लरेन्टले भावुक पत्र लेखे पनि सांसदहरुले उनको त्यस्तो दाबीलाई अस्वीकार गर्दै बेल्जियमका कुनै पनि नागरिक त्यसरी पीडित नभएको बताएका छन् । राजकुमार लरेन्टले पाइरहेको भत्ता कटौती गर्ने पक्षमा ९३ सांसदले मत दिएका थिए भने उनको पक्षमा २३ सांसदले मत दिएका थिए।
को हुन् राजकुमार लरेन्ट ?
बेल्जियमका राजा फिलिपका भाइ लरेन्ट यसअघि पनि पटक पटक विवादमा आइरहने राजकुमार हुन् । उनलाई कहिलेकाँही बेल्जियमका ‘प्रिन्स मोडी’ अर्थात् श्राप पाएका राजकुमारका रूपमा समेत व्याख्या गरिन्छ।

तीव्र गतिमा गाडी चलाएको आरोपमा उनले थुप्रै पटक जरिवाना तिरिसकेका छन् र चिनियाँ सैनिक स्थापनाको ९० औं वार्षिकोत्सवका अवसरमा आयोजित कार्यक्रममा अनौपचारिक रूपमा उपस्थिति हुनु जस्ता कुरा उनका लागि नौलो नभएको बताइन्छ ।लिबियाका दिवंगत शासक मुअम्मर गद्दाफी सत्तामा रहेका बेला उनीसँग बैठक गरेकोमा पनि राजकुमार लरेन्टको आलोचना भएको थियो।

त्यसैगरी सन् २०११ मा कुनै बेला बेल्जियमको शासनमा रहेको प्रजातान्त्रिक गणतन्त्र कंगोको अस्वीकृत भ्रमण गरेकोमा पनि उनको आलोचना भएको थियो । बारम्बार विवादमा आइरहने भएपनि राजकुमार लरेन्ट बेल्जियम जनताको नजरमा मन पराइने पात्रका रूपमा लिने गरिएको फ्रान्सेली समाचार एजेन्सी एएफपीले जनाएको छ । पशुप्रेमी राजकुमार लरेन्टले यसअघि आफू झिंगा वा अक्टोपससँग वार्ता गर्न सक्षम भएपनि हुने भन्ने धारणा सार्वजनिक गरेका थिए ।


 

 

प्रकाशित: १९ चैत्र २०७४ ०३:४८ सोमबार

राजकुमारको भत्ता कटौती हुने