अन्तर्राष्ट्रिय

क्यानडाले विदेशी श्रमिकको सङ्ख्या घटाउँदै

क्यानडा सरकारले विदेशी श्रमिकको सङ्ख्या कम गर्ने रणनीति अपनाउने भएको छ।

क्यानडाका प्रधानमन्त्री जस्टिन ट्रूडोले देशमा कम तलब भएका व्यक्ति र अस्थायी विदेशी श्रमिकहरूको सङ्ख्या घटाउने विषयमा सरकारले काम सुरु गरेको बताए।

बीबीसीका अनुसार सोमवार क्यानेडियन प्रधानमन्त्री जस्टिनले अबदेखि क्यानडाका व्यवसायका लागि घरेलु कामदार र युवामाथि लगानी गर्ने समय आएको बताए।

आफ्नो सामाजिक सञ्जालमार्फत् सोबारे जानकारी दिँदै उनले अब मुलुकको लेबर मार्केट फेरिएको भन्दै क्यानडामा कम तलब भएका र अस्थायी विदेशी श्रमिकको सङ्ख्या कम गर्न लागेको बताए।

क्यानडामा बढ्दो जनसङ्ख्याका कारण त्यहाँ आवास र स्वास्थय सेवा जस्ता सार्वजनिक सेवा प्रभावित बनेको बेला सरकारले उक्त निर्णय गरेको हो।

क्यानडामा आप्रवासीका कारण जनसङ्ख्या वृद्धि भएको र पछिल्लो २ महिनामा त्यहाँको बेरोजगारी दर ६.४ प्रतिशतले बढेको बताइएको छ। क्यानडामा हाल १४ लाख नागरिक बेरोजगार रहेका छन्।

क्यानडा सरकारको उक्त निर्णय पछि नेपालबाट जाने कामदारलाई समस्या हुन सक्ने देखिन्छ।

प्रकाशित: ११ भाद्र २०८१ ११:२६ मंगलबार

#Canada