अन्तर्राष्ट्रिय

भिजा आवेदनसँग सामाजिक सञ्जाल जोड्दै अमेरिका

वासिङ्टन – अमेरिका प्रवेश गर्न भिजा चाहने लगभग सबै आवदेको सामाजिक सञ्जालको इतिहास संकलन गर्न चाहेको अमेरिकाले बताएको छ। 

विश्वका जुनसुकै मुलकबाट अमेरिका आउन चाहाने आप्रवासी तथा शरणार्थीबाट राज्यलाई हुनसक्ने खतराबाट बच्न भन्दै ट्रम्प प्रशासनले अमेरिका प्रवेशाज्ञा माग गर्ने सबै निवेदकको फोन नम्बर, इमेल ठेगाना र सामाजिक सञ्जाल प्रयोगको पाँच बर्षको विवरण माग गर्ने भएको छ। 

संघीय दर्ता नाम गरेको एक कागजातमा शुक्रबार उक्त बिषयबारे जानकारी गराइएको बताइएको छ। दर्ताका लागि बनाइएको उक्त निवेदन गैरआवासीय भिजामा अमेरिका प्रवेश गर्ने क्यानडा, फ्रान्स र जर्मनीका नागरिकबाहेक अन्य मुलुकबाट अमेरिका पुग्ने नागरिकले आफ्ना व्यक्तिगत विवरणलाई अमेरिकी प्रशासनलाई जानकारी गराउन बाध्यकारी व्यवस्था हो।

पछिल्लो निर्णयले भिजाका लागि परेका करिब सात लाख १० हजार आप्रवासी तथा एक करोड ४० लाख गैर आप्रवासी निवेदकलाई प्रभावित पार्ने अमेरिकी विदेश विभागले जनाएको छ।

त्यसरी संकलन गरिएका सूचना जानकारी हासिल गर्न र आप्रवासी वा गैरअप्रवासी प्रवेशाज्ञाको निवेदन दिएका व्यक्तिहरू उपयुक्त वा अनुपयुक्त भएको निर्धारण गर्न प्रयोग गरिने ट्रम्प प्रशासनले जनाएको छ।

भिजा निवेदकलाई कुनै देशबाट कहिल्यै देश निकाला गरिएको थियो वा थिएन भनेर सोधिनेछ अनि कुनै नातागोता आतंकवादी गतिविधिमा संलग्न भए वा नभएको जानकारी दिन भनिनेछ।

अमेरिकी विदेश मन्त्रलायबाट जारी भएको यस्तो प्रस्तावमा समेटिएका समाजिक सञ्जालहरूमा अमेरिका मुख्यालय भएका इन्स्टाग्राम, लिन्कड्इन, रेडिट र युट्युब छन्। त्यसैगरी अमेरिका प्रवेश गर्न चाहने भिजा आवेदकले आफ्नो फेसबुक र ट्विटर अकाउन्टको विस्तृत विवरण पनि पेश गर्नुपर्नेछ। न्युयोर्क टाइम्स पत्रिकाका अनुसार चीनको सिना विबो र रुसको भिके सामाजिक सञ्जाल भने निगरानीमा पर्ने छैनन्।

नागरिकको गोपनियता मामिलाबारे काम गर्दै आएका समूहहरूले भने अमेरिकाले ल्याउन लागेको यस्तो नीतिले गोपनीयतामाथि अतिक्रमण गर्ने र यसले अभिव्यक्ति स्वतन्त्रतामा क्षति पु¥याउने भन्दै निन्दा गरेका छन्। ट्रम्प प्रशासनका अधिकारीहरुले भने यस्तो प्रस्तावले सम्भावित अतिवादीहरुको पहिचानमा सहयोग पु-याउने दाबी गरेका छन्।

प्रकाशित: १८ चैत्र २०७४ ०५:४३ आइतबार

भिजा आवेदनसँग सामाजिक सञ्जाल जोड्दै अमेरिका