अन्तर्राष्ट्रिय

इन्डोनेसियाको नयाँ राजधानी नुसानतारामा मन्त्रिपरिषद् बैठक

इन्डोनेसियाका राष्ट्रपति जोको विडोडोले निर्माणाधीन राजधानी सहर नुसानतारामा पहिलो मन्त्रिपरिषद् बैठक गरेका छन्। अत्यधिक भिडभाड, भूकम्पीय जोखिम, जलवायु परिवर्तनका कारण समुद्र सतह बढ्दा हुने डुबान तथा बढ्दो प्रदूषणका कारण जकार्ताबाट बोर्निओ टापुको पूर्वमा रहेको नुसानतारामा राजधानी सार्ने निर्णय इन्डोनेसियाले गरेको हो।

समुद्री सतह बढ्ने विद्यमान दर जारी रहेमा सन् २०५० सम्म जकार्ताको एक तिहाइ भूभाग डुबानमा पर्ने आकलन छ। विश्वका सबैभन्दा छिटो डुब्ने सहरको सूचीमा जकार्ता पनि छ। वर्तमान राष्ट्रपति विडोडोले एक करोड जनसंख्या रहेको जकार्ताबाट नुसानतारामा राजधानी सार्ने योजना घोषणा गरेपछि २०२२ देखि नयाँ सहर निर्माण जारी छ।

आगामी शनिबार अर्थात् अगस्त १७ तारिखमा इन्डोनेसियाले आफ्नो स्वतन्त्रता दिवसको औपचारिक कार्यक्रम यही निर्माणाधीन सहरमा मनाउने तयारी गरेको छ। दुई सातादेखि प्रस्तावित राजधानी सहरमा कार्यालय स्थापना गरेर राष्ट्रपति विडोडोले काम गरिरहेका छन्। राष्ट्रिय प्रतिकका रूपमा रहेको गरुडको आकारमा राष्ट्रपतिको भव्य भवन निर्माण भइरहेको छ।

आफ्ना उत्तराधिकारी तथा नवनिर्वाचारित राष्ट्रपति प्रावोयो सुवियान्तासँग निर्माणाधीन राष्ट्रपति भवनअगाडि सोमबार देखिएका राष्ट्रपति विडोडोले ३३ अर्ब अमेरिकी डलरबराबरको राजधानी स्थानान्तरण योजना सार्थक हुने बताएका छन्। ‘नुसनतारा इन्डोनेसियाको भविष्य कोर्ने क्यानभास हो। सबै देशसँग शून्यबाट सुरु गरेर आफ्नो नयाँ राजधानी निर्माण गर्ने अवसर र क्षमता हुँदैन,’ विडोडोले भने।

करिब एक हजार वर्ग माइल (दुई हजार ६ सय वर्ग किलोमिटर) क्षेत्रफलमा फैलिएको नयाँ सहरमा नवीकरणीय ऊर्जा स्रोत प्रयोग गरिने तथा स्मार्ट तरिकाले फोहोर व्यवस्थापन गर्ने योजना छ। वन र पार्कको केन्द्रमा रहने यो सहरलाई हरित सहर बनाउने तयारी छ। ‘चिसो हावा, स्वच्छ हावासहितको हरित राजधानी सहर हामी चाहन्छौं। ऊर्जा होस्, विद्युतीय सवारीसाधन होस्, वातावरण, हावा र सबै थोक हरितमैत्री हुनेछन्,’ विडोडोले पत्रकारसँग भने।

आगामी अक्टोबरदेखि राष्ट्रपतिको कार्यभार सम्हाल्ने नवनिर्वाचाति राष्ट्रपति सुवियान्ताले समेत राजधानी स्थानान्तरणको महत्त्वाकांक्षी योजनालाई अगाडि बढाउने घोषणा गरेका छन्। ‘हामी पक्कै यो परियोजना पूरा गर्नेछौं, नयाँ राजधानीको समग्र रूपरेखा तयार गर्न र योजनाहरू अगाडि बढाउन केही वर्ष लाग्नेछ। म आशावादी छु, आगामी पाँच वर्षमा यसले राम्रो आकार लिनेछ’, सुवियान्ताले भने। नयाँ राजधानीको समग्र निर्माण सन् २०४५ सम्म सम्पन्न हुने आकलन छ।

नयाँ राजधानी बनाउन ३३ अर्ब अमेरिकी डलर लाग्ने अनुमान छ। त्यसमध्ये सरकारले २० प्रतिशत मात्र योगदान गर्ने र बाँकी लगानी निजी क्षेत्रले गर्ने तय भएको छ। सार्वजनिक सुविधा तथा भौतिक संरचना निर्माणमा समेत निजी क्षेत्रले लगानी गर्नेछ। हालै राष्ट्रपति विडोडोेले लगानी आकर्षित गर्न १९० वर्षसम्म लगानीकर्तालाई जग्गाको अधिकार दिने घोषणा गरेका थिए। राष्ट्रपति विडोडोले सोमबार नै उपराष्ट्रपति कार्यालय तथा निजी लगानीमा बन्ने लागेका भव्य भवनहरूको उदघाट्न गरेका छन्।

वातावरणविद् र आदिवासी समुदायले बोर्निओको जंगलमा अगाडि बढाउन लागिएको यो परियोजनाले ठुलो मात्रामा वन विनाश गर्ने तथा आदिवासीलाई प्रभाव पार्ने बताउँदै आएका छन्। उनीहरूले यो योजनाबाट ओराङ्उटनलगायत अन्य लोपोन्मुख जनावरको बासस्थान खुम्चिने र आदिवासीहरू विस्थापित हुने बताउँदै आएका छन्।

प्रकाशित: ३० श्रावण २०८१ ०७:०० बुधबार

#Indonesia #Nusantara