अन्तर्राष्ट्रिय

राजनीतिक, सामाजिक र धार्मिक एकताका लागि नेता युनुसको अपिल

बङ्गलादेशका अन्तरिम सरकारको नेतृत्व गरिरहेका नेता मोहम्मद युनुसले राजनीतिक, सामाजिक र धार्मिक एकताका लागि सबै देशबासीसँग अपिल गरेका छन्।

शनिवार कुराकानी गर्दै उनले हिंसा प्रभावित देशमा अल्पसङ्ख्यक समुदायमाथि भएको आक्रमणको निन्दा गर्दै त्यसलाई जघन्य भएको बताए।

उनले बङ्गलादेशी युवालाई देशमा रहेका हिन्दु, ईसाई र बौद्ध धर्माबलम्बी परिवारको रक्षाका लागि पनि आग्रह गरे।

शेख हसिनाको १५ वर्षे शासन अन्त्य गर्ने क्रममा भएको जनप्रदर्शनमा प्रहरीले चलाएको गोली लागि मृत्यु भएका एक छात्राकी रोइरहेकी आमालाई अँगालो हाल्दै अन्तरिम सरकारको नेतृत्वकर्ता युनुसले विगतको हृदय विदारक घटनालाई मनमा राख्न र धार्मिक सहिष्णुता प्रकट गर्न आग्रह गरेका हुन्।

नोबेल पुरस्कार विजेता ८४ वर्षीय युनुस यसै साता युरोपबाट फर्किएको र अव्यवस्थाको अन्त्य र प्रजातान्त्रिक सुधारको ठूलो चुनौतीको सामना गर्दै अन्तरिक प्रशासनको नेतृत्व सम्हालेका छन्।

पूर्वप्रधानमन्त्री हसिनालाई विद्यार्थी आन्दोलनको बलमा गत साता पदच्युत गरिएपछि देशका हिन्दू अल्पसङ्ख्यक समुदायमाथि भएका कैयौँ प्रतिशोधात्मक आक्रमणले छिमेकी मुलुक भारतमा सन्त्रास पैदा गर्नुका साथै स्वदेशमा पनि त्रास फैलाएको छ।

युनुसले उत्तरी शहर रङ्गपुरको भ्रमणका क्रममा गत महिना भएको अशान्तिका क्रममा मारिएका पहिलो विद्यार्थी अबु सायिदको सम्झनामा शान्ति कायम गर्न आह्वान गरेका थिए।

प्रकाशित: २७ श्रावण २०८१ ०७:०९ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App