अन्तर्राष्ट्रिय

युनुस बङ्गलादेश फर्किदै, अन्तरिम सरकारको शपथ आजै

बङ्गलादेशको नयाँ अन्तरिम सरकारले आज शपथ ग्रहण गर्ने भएको छ। 

बङ्गलादेशका सेना प्रमुख जनरल वेकर–उज–जमानले मुहम्मद युनुस आज स्वदेश फर्किएपछि आजै साँझ नयाँ अन्तरिम सरकारले सपथ लिने तयारी रहेको बताएका छन्।

‘हामी आज सपथ ग्रहण समारोह आयोजना गर्न सक्दो प्रयास गर्नेछौँ। हामी करिब आठ बजे (जिएमटी १४ बजे) गर्न सक्छौँ, सपथ ग्रहण समारोहमा करिब चार सय व्यक्ति उपस्थित हुने सम्भावना छ’, उनले भने।

युनुस अन्तरिम सरकारको नेतृत्व गर्न बङ्गलादेश आउँदा उनले ‘लोकतान्त्रिक प्रक्रिया’ मार्फत बङ्गलादेशको नेतृत्व गर्ने सेना प्रमुख जमानले बताए।  

‘उहाँ यस्तो गर्न अत्यन्त उत्सुक हुनुहुन्छ’, सेना प्रमुख जमानले भने, ‘मलाई विश्वास छ, उहाँले हामीलाई सुन्दर लोकतान्त्रिक प्रक्रियामार्फत लैजान सक्षम हुनुहुनेछ र यसबाट हामी लाभान्वित हुनेछौँ।’

हाल युरोपमा रहेका ८४ वर्षीय युनुस आज दिउँसो २ः१० बजे राजधानी ढाका आइपुग्ने बताइएको छ।

बङ्गलादेशका राष्ट्रपति मोहम्मद सहाबुद्दीनले बुधवार नोबेल पुरस्कार विजेता युनुसलाई अन्तरिम सरकारको नेतृत्व गर्नेगरी जिम्मेवारी तोकिएको घोषणा गरेका थिए।

बङ्गलादेशी निम्न वर्गको उत्थानका लागि काम गरेका ८४ वर्षीय युनुसलाई अन्तरिम सरकारको नेतृत्व दिन विद्यार्थी नेताहरूले गरेको आह्वानपछि उनलाई अन्तरिम सरकारको जिम्मेवारी सुम्पिएको हो।

राष्ट्रपति मोहम्मद शाहाबुद्दिन, सेना, नौसेना र वायुसेनाका प्रमुखहरू र विद्यार्थी नेतासँगको बैठकपछि यो निर्णय गरिएको हो।

नवनियुक्त प्रहरी प्रमुखद्वारा माफी

यसैबीच बङ्गलादेशका नवनियुक्त प्रहरी प्रमुखले बुधवार घातक विरोध प्रदर्शनका क्रममा अधिकारीहरूको आचारणका लागि माफी मागेका छन्। साथै उनले हत्याको ‘निष्पक्ष’ छानबिन गर्ने प्रतिवद्धता पनि व्यक्त गरेका छन्।  

प्रकाशित: २४ श्रावण २०८१ ०८:३४ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App