बंगलादेशमा विपक्षी दलका नेता खालिदा जिया रिहा हुने भएकी छन्। प्रधानमन्त्री शेख हसिनाले देश छाडेसँगै राष्ट्रपति मोहम्मद शाहबुद्दीनले जियालाई रिहा गर्न आदेश दिएका थिए।
सेना प्रमुख वाकर उज जमानले अन्तरिम सरकार गठन गर्ने र उक्त सरकारमा सबैलाई समेट्ने बताइरहँदा बंगलादेश जातीयतावादी दल (बीएनपी) की अध्यक्षसमेत रहेकी जियाको रिहाईको चर्चा सुरु भएको थियो।
सोहीअनुरुप राष्ट्रपति शाहबुद्दीनले समेत सरोकारवालाई सबैलाई समेटेर अन्तरिम सरकार गठन गर्न निर्देशन दिएका छन् । जिया रिहाई भएपछि मात्रै अन्तरिम सरकार गठन हुने बताइएको छ । सन् १९९१ देखि १९९६ र सन् २००१ देखि २००६ मा उनी दुई पटक प्रधानमन्त्री भएकी थिइन् ।
स्वास्थ्य अवस्थाका कारण अस्पतालमा उपचाररत ७८ वर्षीया जियालाई भ्रष्टाचार गरेको आरोपमा शेख हसिना सरकारले १७ वर्ष जेल सजाय सुनाएको थियो । सन् २०१८ यता जिया ढाकास्थित केन्द्रीय कारागारमा थुनामा छन् । जियामाथि भ्रष्टाचार समेतका ३६ वटा मुद्दा चलिरहेको छ ।
प्रकाशित: २२ श्रावण २०८१ १२:३१ मंगलबार