अन्तर्राष्ट्रिय

के होला मोदी-पुटिन अँगालोको अर्थ?

प्रधानमन्त्री मोदी सोमबार मस्को पुग्दा राष्ट्रपति पुटिनले उनको न्यानो स्वागत गरे। दुवैले एकअर्कालाई अँगालो पनि मारे। पश्चिमा विश्लेषकलाई प्रधानमन्त्री मोदी र राष्ट्रपति पुटिनले अँगालो मारेको तस्बिर मन परेन र उनीहरूले यसको कडा आलोचना गरेका छन्।

त्यसो त अन्तर्राष्ट्रिय फौजदारी अदालतले मार्च २०२३ मा युक्रेनमा गरिएको आक्रमणका लागि पुटिनविरुद्ध पक्राउ पुर्जी जारी गरेको थियो। तसर्थ युक्रेनी राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीले समेत मंगलबार पुटिनसँग प्रधानमन्त्री मोदीले अँगालो मारेको विषयलाई निसाना बनाएका छन्। जेलेन्स्कीले भनेका छन्, ‘विश्वको सबैभन्दा ठूलो लोकतान्त्रिक मुलुकले विश्वको रक्तपिपासु अपराधीलाई अँगालो हाल्नु अत्यन्तै निराशाजनक छ। त्यति नै बेला युक्रेनको एक बाल अस्पतालमा घातक हमला भएको थियो।’

राष्ट्रपति जेलेन्स्कीले गरेको यो टिप्पणीप्रति भारतमा पनि चर्काे आलोचना भइरहेको छ। रुसका लागि पूर्व भारतीय राजदूत तथा भारतका पूर्व विदेशसचिव कंवल सिबलले लेखेका छन्, ‘मोदीले पनि जी–७ शिखर सम्मेलनमा जेलेन्स्कीलाई अँगालो हालेका थिए। जेलेन्स्कीको प्रतिक्रिया गम्भीर राजनीतिक व्यक्तित्व जस्तो नभई कमेडियनको जस्तो छ।’

पश्चिमा सञ्चारमाध्यमले प्रधानमन्त्री मोदीको रुस भ्रमणले पुटिनमाथि लगाइएको अन्तर्राष्ट्रिय प्रतिबन्धको प्रभावलाई कमजोर बनाएको बताएका छन्। युक्रेनमा हमला गरेपछि पश्चिमले रुसलाई एक्लो पार्ने प्रयास गरिरहेको छ तर भारत पश्चिमको नीतिसँग सँगै उभिएन। थिंक ट्यांक रैंड कर्पोरेसनका इन्डो–प्यासिफिक विशेषज्ञ डेरेक जे ग्रोसम्यानले जुलाई ७ मा प्रधानमन्त्री मोदी र राष्ट्रपति पुटिनलाई अँगालो हालेको तस्बिर साझा गर्दैै भनेका छन्, ‘मोदीले पुटिनलाई यस पटक अँगालो मार्दैनन् भन्ने मेरो अनुमान गलत साबित भयो।’

‘पुटिन एक युद्ध अपराधी हुन्, मलाई लाग्यो कि भारतले युक्रेनको मामिलामा नैतिक उदाहरण पेस गर्नेछ। मैले यसअघि धेरै पटक भनेको छु, भारतले आफ्नो स्वार्थमा मात्र विश्वास गर्छ,’ प्रधानमन्त्री मोदी र राष्ट्रपति पुटिन अँगालोको भिडियो क्लिप सेयर गर्दै डेरेकले लेखेका छन्, ‘के यहाँ कतै युक्रेन छ ?’

डेरेकले अमेरिकी राष्ट्रपति बाइडेन र मोदी दुवैले आ–आफ्नो देशलाई लोकतान्त्रिक भन्ने र प्रजातान्त्रिक मूल्यमान्यताको कुरा गर्ने गरे पनि दुवैले आफ्नो राष्ट्रिय हितलाई मात्र सबैभन्दा बढी प्राथमिकता दिने गरेको मान्छन्।

जब साउदी अरेबियाका पत्रकार जमाल खसोग्गीको टर्कीमा हत्या भएको थियो र उक्त हत्यामा युवराज मोहम्मद बिन सलमानको संलग्नताको चर्चा भइरहेको थियो, त्यतिबेला बाइडेनले यस मामिलामा साउदी अरेबियालाई अलग गर्न बाध्य हुने बताएका थिए । तर त्यसको केही समयपछि बाइडेन आफैं साउदी अरेबिया गए र युवराजसँग हात मिलाए। त्यसबेला बाइडेनको पनि निकै आलोचना भएको थियो । जुलाई २०२२ मा राष्ट्रपति बनेपछि बाइडेन पहिलो पटक साउदी अरब पुगेका थिए र त्यतिबेला पनि उनको भ्रमणको व्यापक आलोचना भएको थियो।

डेरेकले युक्रेनको बाल अस्पतालमा रुसले बम विस्फोट गरेपछि पुटिनले मोदीलाई अँगालो हाल्नु भारतको राष्ट्रिय अपमान भएको लेखेका छन्। ‘यो वास्तवमा तत्कालीन पाकिस्तानी प्रधानमन्त्री इमरान खानको अपमानजनक रुस भ्रमण जस्तै हो, जतिबेला पुटिनले युक्रेनमा आक्रमण गरेका थिए।’

पाकिस्तानका तत्कालीन प्रधामन्त्री इमरान खान सन् २०२२ मा रुस भ्रमणमा रहेकै बेला रुसले युक्रेनमा आक्रमण सुरु गरेको थियो। इमरान खानको भ्रमणको समेत निकै आलोचना भएको थियो। पुटिन र मोदीको अँगालोमा परराष्ट्र मामिलाविज्ञ बेलिना चकारोभाले एक्स गरेकी छन्, ‘पुटिन र मोदीले एकअर्कालाई अँगालो हाल्ने छैनन् भन्ने आकलन गर्ने पश्चिमा विश्लेषक फेरि एकपटक गलत साबित भएका छन्। वास्तवमा यी दुई देशको सम्बन्धको गतिशीलताबारे उनीहरूलाई धेरै कम जानकारी छ।’ 

थिंक ट्यांक विल्सन सेन्टर साउथ एसिया इन्स्टिच्युटका निर्देशक माइकल कुगेलम्यानले मोदी र पुटिनको भेटपछि जारी संयुक्त विज्ञप्ति सार्वजनिक गर्दै लेखेका छन्, ‘अमेरिकाका लागि सबैभन्दा चिन्ताको विषय के हो भने भारतमा रुसी रक्षा उपकरण उत्पादन गर्ने विषयमा सहमति भएको छ।’ यो विषयमा भारतीय पूर्व सचिव कंवल सिबलले लेखेका छन्, ‘के अमेरिका भारतको रक्षा मेसिनरी रोकिएको चाहन्छ ? के अमेरिकाले भारतलाई चीनसामु लाचार देखाउन चाहन्छ ? भारतसँगको सीमामा चीन अहिले आक्रामक छ। अमेरिकाका विश्लेषक आत्मकेन्द्रित भएका छन्।’

रुस र युक्रेनबीच सन् २०२२ को फेब्रुअरीदेखि युद्ध जारी छ। अमेरिकाको डेलावेयर युनिभर्सिटीका भारतीय मूलका प्राध्यापक डा. मुख्तार खानले भिडियो पोस्टमा भनेका छन्, ‘नेटो बैठकअघि भारत रसियासँग उभिनु धेरै हिसाबले महत्त्वपूर्ण छ। रणनीतिक मामिलामा निर्णय गर्न भारत स्वतन्त्र छ भनेर देखाउन चाहन्छ।’

भारतका लागि चुनौती

अन्तर्राष्ट्रिय मामिलाका जानकार तन्वी मदन रुस र भारतबीचको सम्बन्ध ऐतिहासिक भए पनि जटिलता धेरै रहेको बताउँछिन्। तन्वी मदनले लेखेकी छिन्, ‘मोदीले आफ्नो तेस्रो कार्यकालमा पहिलो द्विपक्षीय भ्रमणका लागि रुस रोजेका हुन् तर यो पनि सत्य हो कि भारतीय प्रधानमन्त्रीले विगत पाँच वर्षदेखि रुस भ्रमण गरेका थिएनन् र विगत केही वर्षदेखि वार्षिक बैठक पनि हुन सकेको थिएन।’

नेटो समूहको शिखर सम्मेलन भइरहेका बेला मोदीले रुस जाने समय रोज्नुलाई चाखलाग्दो मानिएको छ। तर, भारत सरकारले यो द्विपक्षीय भ्रमण रहेको र त्यसलाई त्यही परिप्रेक्ष्यमा हेर्नुपर्ने भन्दै आएको छ। तर त्यसअघि मोदी जी–७ शिखर सम्मेलनमा सहभागी हुन इटाली गएका थिए।

युक्रेनसँगको युद्धका कारण चीनमाथि रुसको निर्भरता बढेको र यो अवस्था भारतको पक्षमा नरहेको बताइएको छ । यस्तो अवस्थामा चीन र रुसको बढ्दो निकटताबीच आफ्नो स्थान सुरक्षित गर्नु भारतका लागि ठूलो चुनौती रहेको विश्लेषक बताउँछन्।  

(बिबिसी हिन्दीबाट साभार)

प्रकाशित: २७ असार २०८१ ०६:५५ बिहीबार

#Narendra Modi #PUtin