अन्तर्राष्ट्रिय

रुससँगको युद्ध अन्त्य गर्न चाहन्छ युक्रेन!

युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले रुससँगको युद्ध अन्त्य गर्ने तयारीमा जुटेका छन्।

उनले रुससँगको युद्ध अन्त्यका लागि विश्वको बहुमतले समर्थन गर्नेगरी व्यापक योजना तयार गरिरहेको समाचार संस्था अल जजिराले जनाएको छ।

‘विश्वको बहुमतले समर्थन गर्ने युद्ध अन्त्य गर्ने योजना ल्याउनु हाम्रो लागि धेरै महत्वपूर्ण छ’, युक्रेनी राष्ट्रपति जेलेन्स्कीले भने।

राष्ट्रपति जेलेन्स्की र रुसी राष्ट्रपति भ्लादिमिर पुटिनको सार्वजनिक बयानका आधारमा युक्रेन र रसियाबीच हाल कुनै वार्ता भएको पाइएको छैन।

युक्रेनले बारम्बार शान्तिवार्ता सुरु हुनअघि रुसले क्रिमियाको प्रायद्वीपसहित अन्य क्षेत्रबाट आफ्नो सेना फिर्ता लानुपर्ने माग राख्दै आएको छ। तर, फेबु्रअरी २०२२ मा युक्रेनमा आक्रमण सुरु गरेका रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले युक्रेनलाई रुसको कब्जामा रहेको आफ्नो पूर्व र दक्षिणको थप क्षेत्र खाली गरेर प्रभावकारी रूपमा आत्मसमर्पण गर्न माग गरेका छन्।

यस महिनाको सुरुमा युक्रेनी राष्ट्रपतिले स्विजरल्याण्डमा एउटा प्रमुख अन्तर्राष्ट्रिय शिखर सम्मेलनको आयोजना गरेका थिए। जहाँ युक्रेनको स्थितिका लागि समर्थन जुटाउन रुसलाई आमन्त्रित गरिएको थिएन।

यसअघि बिहीवार ब्रसेल्समा आयोजित युरोपेली सङ्घ (इयू) शिखर सम्मेलनमा जेलेन्स्कीले युद्ध अन्त्य गर्न केही महिनाभित्र विस्तृत योजना प्रस्तुत गर्ने बताए। रासस

प्रकाशित: १६ असार २०८१ ०७:३८ आइतबार

#war #ukrain #russ