अन्तर्राष्ट्रिय

चिनियाँ सीमानजिक भारतीय सेनाको ट्यांक नदीमा डुब्यो, पाँच सैनिकको मृत्यु

तस्बिर स्रोत : इन्डिया टिभी

भारत–चीन सीमाना नजिक लद्दाख क्षेत्रमा सैन्य अभ्यासका गरिरहेको सैन्य ट्यांक नदीमा डुब्दा सवार पाँचजना भारतीय सैनिकको मृत्यु भएको छ।

घटना शुक्रबार रातिको रहेको भारतीय सञ्चारमाध्यमले लेखेका छन्। लद्दाखको न्योमा–चुशुल क्षेत्रमा ‘लाइन अफ एक्चुअल कन्ट्रोल’ (एलएसी) नजिकै रहेको स्योक नदीमा उक्त घटना भएको हो।

उक्त घटनामा चार सैन्य जवान र एकजना जुनियर कमिसन्ड अफिसर रहेको बिजनेस टुडेले लेखेको छ। सैन्य अभ्यास गरिरहँदा ‘टी–७२’ ट्यांक नदी तरिरहेको बताइएको छ। जसमा एक्कासि बाढी बढेर आएपछि ट्यांक डुबेर घटना भएको बताइएको छ।

भारतीय सेनाले घटनापछि उद्धार टोली पुगे पनि पानीको बहावको उच्चताका कारण तत्काल उद्धार कार्य सफल हुन नसकेको जनाएको छ। भारतीय रक्षा मन्त्री राजनाथ सिंहले घटनामा मृत्यु भएका सैनिकका शोकसन्तप्त परिवारहरूप्रति समवेदना व्यक्त गरेका छन्।

‘लद्दाखमा नदी पार गर्ने क्रममा भएको दुर्भाग्यपूर्ण दुर्घटनामा हाम्रा पाँच बहादुर भारतीय सेनाका सैनिकको ज्यान गएकोमा गहिरो दुःख लागेको छ,’ उनले एक्समा लेखेका छन्,‘हाम्रा वीर सिपाहीहरूले राष्ट्रप्रति गरेको अनुकरणीय सेवालाई हामीले कहिल्यै बिर्सने छैनौं।’

विपक्षी दलका नेता राहुल गान्धीले पनि घटनाको विषयमा दुख व्यक्त गरेका छन्।

प्रकाशित: १५ असार २०८१ १५:३४ शनिबार