अन्तर्राष्ट्रिय

दक्षिण र उत्तर कोरियाबीच अर्काे हप्ता विशेष वार्ता

सोल – उत्तर कोरियाले अन्तर कोरिया उच्चस्तरीय वार्ता अर्को हप्ता गर्न शनिबार सहमति जनाएको छ। 

दुर्लभ मानिएको अन्तर कोरिया शिखर सम्मेलनको व्यवस्थापनका बारेमा छलफल गर्न उच्चस्तरीय वार्ता हुनलागेको दक्षिण कोरियाको एकता मन्त्रालयले जनाएको छ। 

उच्चस्तरीय वार्तामा दुवै देशका तर्फबाट तीन/तीन जना प्रतिनिधि सहभागी गराइने मन्त्रालयले तयारी गरेको छ। 

पान्मुन्जोमको एक ठाउँमा बिहीबार वार्ता हुने र त्यही वार्तामार्फत् आउदो अप्रिलको अन्त्य तिर शिखर सम्मेलन गर्नेगरी तयारी गरिने भएको छ। 

दक्षिण कोरियाले अब हुन गइरहेको उच्चस्तरीय वार्तामा शिखर सम्मेलनको मिति र एजेण्डाका बारेमा छलफल गर्न उत्तर कोरियासँग गत बुधबार प्रस्ताव राखेको थियो। 

‘युनिफिकेसन फेभिलियन विल्डीङ’मा हुने वार्तामा दक्षिण कोरियाली प्रतिनिधि मण्डलको नेतृत्व एकता मन्त्री चो म्योउङ र उत्तर कोरियाको तर्फबाट उहाँका समकक्षी रि सन ग्वाङले नेतृत्व गर्नेछन्।

दुई देशको शिखर सम्मेलनमा भने दक्षिण कोरियाका राष्ट्रपति मुन जाय इन र उत्तर कोरियाका नेता किम जोङ उनका बीचमा भेटवार्ता गराउने लक्ष्य राखिएको छ। 

गत फेब्रुअरी ९ देखि २५ सम्म दक्षिण कोरियामा सम्पन्न ओलम्पिक खेलकुदमा उत्तर र दक्षिण कोरियाका प्रतिनिधिको सहभागिताबाट दुई देशको सम्बन्धमा पछिल्लो समयमा निकै सुधार आएको महसुस गरिएको छ। 

दुई देशकाबीचमा सम्वन्ध सुधार हुँदै गएपछि उत्तर कोरिया र अमेरिकाको सम्वन्धमा पनि नाटकिय हिसाबले सुधार आएको छ। 

प्रकाशित: १० चैत्र २०७४ १६:३२ शनिबार