अन्तर्राष्ट्रिय

चुनाव अघि सुरु भयो भारतीय प्रधानमन्त्री मोदीको ४५ घन्टे ध्यान

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको ४५ घन्टे ध्यान सुरु भएको छ। लोकसभाको निर्वाचन अघि भारतीय प्रधानमन्त्री मोदीले कन्याकुमारीस्थित विवेकानन्द रक मेमोरियलमा गएर ध्यान सुरु गरेका हुन्।

उनले बिहीवार स्थानीय समय अनुसार साँझ ६ः४५ बजे ध्यान सुरु गरेका हुन्। ध्यान अवधिभरी उनले मौनव्रत पनि राख्ने छन्।

समाचार संस्था एएनआईका अनुसार प्रधानमन्त्री मोदीको ध्यान भोलि जुन १ का दिन साँझसम्म जारी रहने छ।

१३१ वर्ष अघि स्वामी विवेकानन्दले ध्यान गरेको शिलामा नै प्रधानमन्त्री मोदीले पनि ध्यान गरिरहेका छन्।

४५ घन्टामो ध्यानको क्रममा उनले तरल पदार्थको मात्रै सेवन गर्नेछन्। जसमा उनले नरिवलको पानी र अङ्गुरको जुस मात्रै पिउने बताइएको छ। ध्यानको क्रममा मौनव्रत राख्दै उनी ध्यान कक्षबाट बाहिर ननिस्कने पनि बताइएको छ।

ध्यान अवधिलाई केन्द्रीत गरी प्रधानमन्त्री मोदीको सुरक्षा व्यवस्था पनि कडा बनाइएको छ। रक मेमोरियल शनिवारसम्म सर्वसाधारणका लागि बन्द गरिएको छ भने निजी डुङ्गामा पनि रोक लगाइएको छ।

भोलि भारतमा अन्तिम चरणको लोकसभा निर्वाचनका लागि मतदान हुनेछ। अन्तिम चरणको चुनावमा भारतीय प्रधानमन्त्री मोदी, उत्तर प्रदेशका पूर्व मुख्यमन्त्री अखिलेश यादव लगायतका दिग्गजहरू मैदानमा रहने छन्।

चुनाव आयोगका अनुसार भारतमा हुने अन्तिम चरणको निर्वाचनका लागि बिहीवारबाट मौन अवधि सुरु हुनेछ। चुनावी प्रचारप्रसार सकिएसँगै भारतीय प्रधानमन्त्री मोदी ध्यानका लागि कन्याकुमारी पुगेका हुन्।

धर्ममा निकै विश्वास राख्ने भारतीय प्रधानमन्त्री मोदीले आफ्ना पछिल्लो निर्वाचन जस्तै यसपटक पनि धार्मिक यात्रा गर्दै ध्यान गरिरहेका छन्।

यसअघि सन् २०१४ को निर्वाचनका बेला उनी शिवाजीको प्रतापगढ र २०१९ मा उत्तराखण्डस्थित केदारनाथ गुफा गएका थिए।

भारतीय प्रधानमन्त्री मोदीले लोकसभा निर्वाचनका लागि उत्तर प्रदेशको वाराणसी लोकसभा सिटका लागि उम्मेदवारी दिएका छन्।

प्रकाशित: १८ जेष्ठ २०८१ १०:५४ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App