अन्तर्राष्ट्रिय

बेलायतमा गँड्यौला चिन्ता

यस्तो पनि

बेलायती गँड्यौलाहरू दिनदिनै मर्न थालेको भन्दै वैज्ञानिकहरू चिन्तित हुन थालेका छन्। गँड्यौला किन दिनदिनै सखाप हुन थाले भन्नेबारे गम्भीर अध्ययन आवश्यक रहेको भन्दै सरकारसँग यसका लागि वैज्ञानिक समुदायले आग्रह गरेका छन्। बेलायतको जमिनमुनि बस्ने गँड्यौला २५ वर्षमा एक तिहाईको संख्याले घट्न थालेको विज्ञहरूको राय छ। यसले माटोको स्वास्थ्यमा गम्भीर हुनुपर्ने देखिएको मात्र नभई अन्न उब्जनीमा समेत प्रभाव पार्ने बताइएको छ।

गँड्यौलामाथि गत वर्षदेखि मात्र अनुसन्धान थालिएको हो। प्लोस वन जर्नलमा अध्ययन गर्दै अध्येताहरूले प्रतिवर्ष २.१ प्रतिशतले गँड्यौला घट्दै गइरहेको बताइएको थियो। सो हिसाबले प्रत्येक २५ वर्षमा एक तिहाई गँड्यौलाको संख्या सखाप भएको अनुमान गरिएको हो। सो अध्ययनपछि पनि सरकारले कुनै कार्यक्रम नल्याइएको माटो वैज्ञानिक ज्याकी स्ट्राउड बताउँछिन्। उनको भनाइमा बेलायतमा लामो समयदेखि माटोको अध्ययन गरिएको छैन। जसका कारण वातावरणीय नीतिमा दशकदेखि कुनै परिवर्तन अएको छैन। अध्ययनको कमीका कारण तथ्यांकपरक नीतिनिर्माण तथा निर्णय हुन नसकिरहेकोतर्फ उनले ध्यानाकर्षण गराएकी छन्।

गँड्यौला अध्ययनका प्रमुख तथा क्याम्ब्रिज विश्वविद्यालयकी प्राणीविज्ञ जेम्स पियर्स हिगिन्स भन्छन्, ‘हाम्रो अध्ययनले अवस्था गम्भीर भएको देखाइरहेको छ। गँड्यौला हाम्रो पर्यावरणको महत्त्वपूर्ण हिस्सा हो। बिरुवाको पोषणका लागि ती नभई नहुने र माटोका लागि अमृतदायक प्राणी हुन्।

गँड्यौलाकै कारण भुइँमा झरेका पातहरू उसको भोजन हुन गई त्यो मलमा परिणत हुन्छ। त्यसलाई सुनौलो मल पनि भनिन्छ। गँड्यौलाको कमीसँगै त्यस्ता सुनौला मलको पनि अभाव हुन गई उत्पादनमा ठूलो कमी हुने वैज्ञानिकहरू बताउँछन्।

केही वैज्ञानिक भने गँड्यौलाको संख्या घटेकातर्फ उति गम्भीर छैनन्।

गँड्यौला घटे पनि कुन र कति संख्या भनी निक्र्यौल गर्न नसकिएकाले यसमा अझै अध्ययन बाँकी रहेको लंकासायर विश्वविद्यालयका प्राध्यापक तथा अर्थवर्म रिसर्च ग्रुपका सहसंस्थापक केभिन बट बताउँछन्।

प्रकाशित: १८ जेष्ठ २०८१ ०८:५३ शुक्रबार

#britain #worm #scientists