अन्तर्राष्ट्रिय

चन्द्रमा यात्रामा ‘छाङ् अ’ ६

यस्तो पनि

पछिल्लो समय चीनले चन्द्रमामा आफ्नो उपस्थिति बढाउँदै लगेको छ। यसै सिलसिलामा ‘छाङ् अ’ ६ विमानलाई गत साता मे ३ का दिन चन्द्रमामा पठाएको हो। चन्द्रमामा यसले सबैभन्दा टाढाको क्षेत्रमा पुगी त्यहाँको वस्तुस्थिति अवलोकन गर्ने छ भने त्यहाँको माटो–ढुङ्गाका नमुनाहरू ल्याउने छ।

यदि ‘छाङ् अ’ ६ को सफलतापूर्वक चन्द्रमामा अवतरण भएमा यसले त्यहाँको दोस्रो नमुना ल्याउने छ। चन्द्रमाको सबैभन्दा विकट क्षेत्रको नमुना ल्याउने यो पहिलो अवसर हुनेछ।

चन्द्रमाको टाढाको भाग पृथ्वीबाट देखिँदैन। त्यो भागमा उपग्रह तथा यान पुर्‍याउनु निकै कठिनसाध्य कार्य हो। चन्द्रमाको विकट क्षेत्रसँग सम्पर्क साँध्नका लागि पनि कठिन हुन्छ। यसका लागि चन्द्रमा छेउमा उपग्रह राखेर त्यसमार्फत सञ्चार गर्नुपर्ने हुन्छ। त्यसैले चीनले त्यसका लागि दुई वटा उपग्रहहरू चन्द्रमाको कक्षमा स्थापित गरेको बताइएको छ।

‘छाङ् अ’ ६ लाई ‘छाङ् अ’ ५ को ब्याकअपका रूपमा निर्माण गरिएको थियो। ‘छाङ् अ’ ५ ले सन् २०२० मा नै चन्द्रमाको नजिकको ठाउँबाट विभिन्न ढुंगा–माटोको नमुनाहरू सङ्कलन गरी ल्याएको थियो।

यो समाचार तयार पारुञ्जेलसम्म ‘छाङ् अ’ ६ चन्द्रमामा अवतरण गरिसकेको छैन। तर जब चन्द्रमाको कक्षमा छिरिसकेपछि यसले चन्द्रमाको दक्षिणी क्षेत्रमा अवतरण गर्ने गरी मोड्युल छाड्नेछ।

यो यान चन्द्रमामा अवतरण भइसकेपछि यसले चार क्षेत्र अध्ययन गर्नेछ। पहिलो चाहिँ दुई केजी बराबरको ढुंगा वा धुलो ल्याउने छ। यी नमुना सामग्रीमार्फत चन्द्रमाको इतिहास मात्र नभई पृथ्वी र स्वयं सौर्य प्रणालीको इतिहास बुझ्न सघाउ पुग्ने बताइएको छ।

सामग्री संकलन गरिसकेपछि विमान पुनः चन्द्रमाबाट निस्कने छ भने चन्द्रमामा रहेको अर्बिटरसँग जोडिने छ। त्यसले पुनः पृथ्वीमा फर्काउन भूमिका खेल्ने छ।

‘छाङ् अ’ ६ चीनको चन्द्र खोज कार्यक्रमको चौथो चरण हो। चौथो चरणमा थप दुई रोबोट केन्द्रित मिसन हुने बताइएको छ। त्यसपछि मात्र मान्छेलाई सो क्षेत्रमा पुर्‍याउने अभियानमा चीन लाग्ने बताइएको छ।

प्रकाशित: ३१ वैशाख २०८१ ०८:०२ सोमबार

#moon #china #observation