अन्तर्राष्ट्रिय

यात्रुबाहक बस दुर्घटना हुँदा २० जनाको मृत्यु, २१ घाइते

पाकिस्तान अधिकृत कश्मिरको गिलगिट–बाल्टिस्तानको डायमर जिल्लामा यात्रुबाहक बस दुर्घटना हुँदा २० जनाको मृत्यु भएको छ। साँघुरो पहाडी सडकमा बस दुर्घटना भई खोलामा खस्दा कम्तीमा २१ जना घाइते भएका छन्।

प्रहरीका अनुसार शुक्रबार बिहान ५ः३० बजे डायमरको काराकोरम राजमार्गको यशोखल क्षेत्रमा बस दुर्घटना भएको हो। रावलपिन्डीबाट गिलगिटतर्फ गइरहेको बसमा कम्तीमा ३८ जना यात्रु सवार रहेको प्रहरीले जनाएको छ।

दुर्घटनापछि दुर्घटनास्थलमा उद्धार टोली पठाइएको छ भने घाइते तथा शवलाई चिलासको अस्पतालमा लगिएको छ। स्वास्थ्य विभागका निर्देशकका अनुसार मृतकमा तीन जना महिला रहेको बताइएको छ।

डायमरका उपायुक्त फयाज अहमदले कम्तीमा पाँच जना घाइते यात्रुको अवस्था गम्भीर रहेको र दुई जनालाई गिलगिट सहरमा सारिएको बताए। अहमदले दुर्घटनाका पीडित परिवारसँग नियमित सम्पर्कमा रहेको जानकारी दिए।

तिव्र गतिका कारण मोड लिने क्रममा बस दुर्घटना भएको अधिकारीहरुले जनाएका छन्। रासस 

प्रकाशित: २१ वैशाख २०८१ १२:३१ शुक्रबार

पाकिस्तान गिलगिट–बाल्टिस्तान यात्रुबाहक बस दुर्घटना २० जनाको मृत्यु