अन्तर्राष्ट्रिय

यूक्रेन भन्छः रूससँग पराजित भए विश्व तेस्रो विश्व युद्धमा धकेलिन्छ

यूक्रेनका प्रधानमन्त्री डेनिस शमिहालले रूससँगको युद्धमा यूक्रेन पराजित भए विश्वलाई तेस्रो विश्व युद्धको सामना गर्नुपर्ने चेतावनी दिएका छन्।

उनले भने, ‘यदि हामीलाई बचाउन सकिएन भने यूक्रेन युद्धमा पराजित हुन्छ। यसले अन्तर्राष्ट्रिय सुरक्षाको व्यवस्था ध्वस्त हुन्छ। र, विश्वलाई सुरक्षाको नयाँ व्यवस्थाको खाँचो पर्न सक्छ।’

बीबीसीका अनुसार अमेरिकी काँग्रेससँग विदेशी राहत प्रस्ताव पारित गर्न माग गर्दै उनले यूक्रेनलाई बचाउन नसके फेरि नयाँ तनाव उत्पन्न हुन सक्ने र त्यसले विश्व तेस्रो विश्व युद्धमा धकेलिने बताए।

यूक्रेनलाई राहत प्याकेज दिने सम्बन्धी प्रस्तावमाथि अमेरिकी संसदमा शनिवार मतदान हुनेछ।

यसअघि यूक्रेनका राष्ट्रपति भ्लोदोमिर जÞेलेन्स्कीले पनि रूसले तेस्रो विश्वयुद्ध सुरु गर्नका लागि पोल्यान्डमाथि आक्रमण गर्न सक्ने चेतावनी दिएका थिए।

तर, रूसी राष्ट्रपति भ्लादिमीर पुटिनले गत महिना रूसले पूर्वी यूरोपमाथि आक्रमण गरेको दावीलाई अस्विकार गरेका थिए।

पछिल्लो समय रूस र यूक्रेन युद्धमा यूक्रेन पराजित हुने विभिन्न आँकलनहरू गर्न थालिएको छ। यूक्रेनलाई चाहिने आवश्यक हातहतियार र सामग्री अभाव हुन थालेको र रूसले यूक्रेनका विभिन्न क्षेत्रमा आक्रमण तीव्र गर्दा यूक्रेनलाई आवश्यक सहयोग उपलब्ध नगराए युद्ध हार्न सक्ने आँकलन विभिन्न निकायले गर्न थालेका छन्।

प्रकाशित: ६ वैशाख २०८१ १३:३० बिहीबार

यूक्रेन प्रधानमन्त्री डेनिस शमिहाल रूस युद्ध युद्धमा यूक्रेन पराजित अन्तर्राष्ट्रिय सुरक्षा