अन्तर्राष्ट्रिय

गाजा युद्धविरामबारे इजराइल र हमासबीचको वार्ता अनिश्चित

गाजामा युद्धविराम र बन्धकहरूको रिहाइका लागि इजराइल र हमासबीचको वार्ता रोकिएको मध्यस्तकर्ता कतारले बताएको छ।

कतारका प्रधानमन्त्री शेख मोहम्मद बिन अब्दुल रहमान अल–थानीले रोमानियाली प्रधानमन्त्री मार्सेल सियोलाकुसँगको पत्रकार सम्मेलनमा भने, ‘हामी केही अवरोधसाथ संवेदनशील चरणबाट गुज्रिरहेका छौँ र हामीले यो अवरोधलाई हटाउन हरसम्भव प्रयास गरिरहेका छौँ।’

अमेरिका र इजिप्टसँग कतार गाजामा युद्धविराम सुनिश्चित गर्न र इजराइली कारागारमा रहेका प्यालेस्टिनी कैदीहरूको बदलामा इजराइली बन्धकको रिहाईका लागि धेरै सातादेखि पर्दापछाडिको वार्तामा संलग्न छ।

मध्यस्थकर्ताहरूले रमजानको प्रारम्भभन्दा अघि नै युद्धविराम हुने अपेक्षा गरेका थिए तर गत साता समाप्त भएको मुस्लिम पवित्र महिनामा शत्रुता अन्त्यमा बिना प्रगति बारम्बार वार्ता असफल भयो। यसको सट्टा यसै साताको अन्त्यमा आफ्नो कट्टर दुश्मन इजराइलमाथि इरानको पहिलो प्रत्यक्ष आक्रमणपछि गाजामा महिनौँदेखि जारी युद्ध क्षेत्रीय युद्धमा परिणत हुने डर बढेको छ।

प्रधानमन्त्री शेखले गाजाका बासिन्दाले ‘घेराबन्दी र भोकमरी’ को सामना गर्नुपरिरहेको भन्दै मानवीय सहायतालाई ‘राजनीतिक ब्ल्याकमेलको उपकरण’ का रूपमा प्रयोग गरिएको बताए। रासस

प्रकाशित: ६ वैशाख २०८१ ०८:३४ बिहीबार

अस्थायी युद्धविराम गाजा गाजामा युद्धविराम बन्धकहरूको रिहाइ वार्ता मध्यस्तकर्ता कतार शेख मोहम्मद बिन अब्दुल रहमान अल–थानी