अन्तर्राष्ट्रिय

ईरानी आक्रमणविरुद्ध अमेरिका र बेलायत एकजुट, इजरायललाई साथ दिने

इजरायलमाथि ईरानी आक्रमण पछि अमेरिका र बेलायत एकजुट भएका छन्। इजरायलमाथि शनिवार मध्यरातमा ईरानले इजरायलमाथि आक्रमण सुरु गरेपछि अमेरिकी र बेलायती सेनाले कतिपय ड्रोन नष्ट गरिदिएका छन्।

बीबीसीका अनुसार बेलायतको रोयल एयर फोर्स (आरएएफ) आवश्यकता अनुसार ईरानी ड्रोनहरूलाई रोक्ने काम गर्ने बेलायत सरकारले बताएको छ।

यसैबीच, अमेरिकी राष्ट्रपति जो बाइडन र बेलायतका प्रधानमन्त्री ऋषि सुनकले ईरानी आक्रमणको आलोचना गरेका छन्। साथै दुबैजनाले इजराइललाई साथ दिने पनि प्रतिबद्धता व्यक्त गरेका छन्।

गत अप्रिल १ मा सिरियास्थित ईरानी वाणिज्य दूतावासमाथि भएको आक्रमण इजरायलले गराएको आरोप लगाउँदै ईरानले आक्रमण सुरु गरेको हो। तर, इजरायलले भने उक्त आक्रमणको जिम्मेवारी लिएको छैन।

पहिलेदेखि नै युद्धमा होमिएको इजरायल ईरानी आक्रमण पछि तनावमा आएको छ। उसले आफ्ना नागरिकलाई सुरक्षित रहन आग्रह गर्दै आक्रमणका लागि तयार रहन आफ्ना सेनालाई निर्देशन दिएको छ।

प्रकाशित: २ वैशाख २०८१ ११:४७ आइतबार

अमेरिका इजरायल बेलायत ड्रोन नष्ट