अन्तर्राष्ट्रिय

रुसमा राष्ट्रिय झन्डा झुकाएर शोक प्रकट

आतंकवादी आक्रमण भएको कन्सर्ट हलबाहिर मृतकप्रति आइतबार श्रद्धाञ्जली अर्पण गर्दै रुसी राष्ट्रपति भ्लादिमिर पुटिन।तस्बिर : रोयटर्स

रुसमा शुक्रबार राति भएको आतंकवादी आक्रमणमा १३३ जनाको ज्यान गएपछि आइतबार मृतकको सम्झनामा राष्ट्रिय झन्डा आधा झुकाएर शोक प्रकट गरिएको छ भने कैयौं आधिकारिक कार्यक्रम रद्द गरिएका छन्। बिबिसीका अनुसार टेलिभिजन च्यानलका कार्यक्रमको समयसारिणी पनि परिवर्तन गरिएको छ।

रुसी अधिकारीका अनुसार आक्रमणमा १४० जना घाइते भएका छन्। मस्कोको एक कन्सर्टमा भएको उक्त आक्रमणको जिम्मा इस्लामिक स्टेट समूहले लिएको छ। बन्दुकधारीले प्रहार गरेको अन्धाधुन्ध गोली लागेर कन्सर्ट भवनमा आगो लागेको थियो।

पिकनिक नाम गरेको एक रक समूहले आयोजना गरेको कन्सर्ट हेर्न ६ हजारभन्दा बढी मानिस क्रोकुस सिटी हलमा पुगेका थिए। सामाजिक सञ्जालमा राखिएका भिडियोमा सैन्य पोसाक लगाएका कम्तीमा चारजनाले क्रास्नोगोस्र्कस्थित क्रोकुस सिटी हलको लबीमा दर्शक प्रवेश गरिरहेका बेला गोली चलाइरहेको देख्न सकिन्छ।

रुसी राष्ट्रपति पुटिनले आक्रमणमा संलग्न र उनीहरूका सहयोगीमाथि कडा कारबाही गरिने बताएका छन्। रुसी अधिकारीहरूले आक्रमणमा संलग्नलाई पक्राउ गरिएको बताएका छन्। पक्राउ गरिएका ११ जना शंकास्पद व्यक्तिहरूमध्ये चारजना प्रत्यक्ष संलग्न भएको दाबी गरिएको छ।

एक रुसी सांसदका अनुसार घटनाका मुख्य आरोपित चारजना कारमा भागेर घटनास्थलभन्दा सयौं किलोमिटर टाढा रुसको दक्षिणपश्चिमी क्षेत्र पुगिसकेका थिए। किभका अधिकारीहरूले आरोपितहरू युक्रेनी सीमातर्फ भाग्दै गरेको भन्ने रुसी सुरक्षा अधिकारीहरूको दाबीप्रति आपत्ति जनाएका छन्।

अमेरिकी अधिकारीहरूले आफ्नो गुप्तचरी सूचना इस्लामिक स्टेटको दाबीसँग मेल खाएको जनाएका छन्। दुई साताअघि अमेरिकी दूतावासले उग्रवादीहरूले मस्कोमा आक्रमणको योजना बुनिरहेको भन्दै आफ्ना नागरिकलाई भीडभाड हुने ठाउँमा नजान भनेको थियो। रुस र युक्रेनबीच लडाइँ जारी रहेका बेला भएको यो गोली काण्डमा आफू संलग्न नरहेको किभले बताएको छ।

संयुक्त राष्ट्रसंको सुरक्षा परिषद्ले उक्त आक्रमणलाई ‘अक्षम्य र लाछी आतंकवादी हमला’ भन्दै आतंकवाद अन्तर्राष्ट्रिय शान्ति र सुरक्षाका लागि सबैभन्दा ठुलो चुनौती रहेको जनाएको छ। यसअघि रुसी विदेश मन्त्रालयले उक्त ‘बर्बर आक्रमण’को निन्दा गर्न विश्व समुदायलाई अपिल गरेको थियो।

६ दिनअघि रुसी राष्ट्रपति भ्लादिमिर पुटिन पाँचौँ कार्यकालका लागि राष्ट्रपतिमा चुनिएका थिए। आक्रमणपछि रुसका विमानस्थल र रेल स्टेसनमा सुरक्षा व्यवस्था कडा बनाइएको छ। आक्रमणको नेपालले निन्दा गरेको छ।

प्रकाशित: १२ चैत्र २०८० ०७:४० सोमबार

बन्दुकधारी आतंकवादी बर्बर आक्रमण राष्ट्रिय झन्डा शोक प्रकट इस्लामिक स्टेट समूह अक्षम्य र लाछी आतंकवादी हमला