अन्तर्राष्ट्रिय

रोजगारी खोज्ने फाइल चोरी गरेको आरोपमा तीनजना पक्राउ

फ्रान्सको प्रहरीले रोजगारी खोज्नेहरूको डाटाबेसबाट चार करोड ३० लाख मानिसको निजी डाटा चोरेको आरोपमा तीन जना संदिग्धलाई पक्राउ गरेको अभियोजनकर्ताहरूले मङ्गलबार बताएका छन्।

करिब २० वर्ष उमेर समूहका तीन जनालाई आइतबार पक्राउ गरिएको र मङ्गलबार अनुसन्धान मजिस्ट्रेटले उनीहरूमाथि आरोप लगाउने साइबर अपराध अनुसन्धान एकाइले विज्ञप्तिमा बताएको छ।

‘प्रविधि र टेलिफोन प्रयोगमार्फत उनीहरूको ट्र्याक गरिसकेपछि संदिग्धहरूको घरहरूमा खोजी गर्दा केहीले ‘फिसिङ’ प्रविधि प्रयोग गरेर मानिसहरूलाई ठगिरहेको पुष्टि भएको छ’, अनुसन्धानकर्ताहरूले भनेका छन्।

हमलाकारीहरूले कामको खोजीमा विकलाङ्ग मानिसको समर्थन गर्ने एजेन्सीमा काम गर्ने मानिसहरूको लगिन विवरण प्रयोग गरेर डाटासम्म पुगेको अभियोजनकर्ताहरूले बताएका छन्। व्यक्तिगत जानकारीका चार करोड ३० डाटा डाउनलोड गरिएको अभियोजनकर्ताहरूको अनुमान छ।

यसमा बेरोजगारीको सेवाका लागि नाम, जन्ममिति र स्थान, भौतिक तथा इमेल ठेगाना, टेलिफोन नम्बर, सामाजिक सुरक्षा नम्बर र लगिन नाम समावेश थिए। फ्रान्स ट्राभेलले चुहावटको समयमा प्रभावित मानिसहरूमा सक्रिय रोजगारी खोज्नेहरूका साथै पछिल्लो २० वर्षदेखि सेवाको प्रयोग गर्नेहरू पनि रहेको बताएको छ। चोरिएको डाटामा बैंक विवरण र पासवर्ड नभएको बताइएको छ।

सिभिल सर्भिसमन्त्री स्टानिस्लास गुएरिनीले सञ्चार अवरुद्ध गर्ने प्रयासका लागि रुस समर्थक ह्याकरहरूलाई दोष दिँदै उक्त प्रयासलाई विफल बनाएको बताए। रासस

प्रकाशित: ७ चैत्र २०८० ०९:४२ बुधबार

फ्रान्स रोजगारी टेलिफोन फिसिङ बेरोजगारी