अन्तर्राष्ट्रिय

गाजामा युद्धविरामको सम्भावना न्यून, बन्धक रिहाई अन्यौलमा

गाजामा युद्धविरामको सम्भावना हाललाई न्यून देखिएको छ। इजराइल र हमास गाजामा शत्रुता अन्त्य गर्ने र बन्धकहरू रिहा गर्ने सम्झौताको नजिक नभएको मध्यस्थकर्ता कतारले बताएको छ। कतारले स्थिति ‘अत्यन्त जटिल’ बनेको चेतावनी दिँदै हाललाई गाजामा युद्धविराम हुने सम्भावना नरहेको मङ्गलबार बताएको हो।

अमेरिका, कतार र इजिप्टको मध्यस्थतामा विगत लामो समयदेखि दुबै पक्षबीच वार्ता हुँदै आएको थियो। तर, इजरायलले आक्रमण जारी राखेको र हमास पनि सहमत हुन नसकेपछि युद्धविरामको सम्भावना हाललाई टरेको कतारले बताएको छ।

‘हामी कुनै सम्झौताको नजिक छैनौँ, यसको अर्थ सम्झौताको कार्यान्वयनमा विद्यमान असहमतिको समाधान गर्न सकियोस् भन्ने भाषामा दुवै पक्षले बोलेको हामीले देखिरहेका छैनौँ’, कतारी विदेश मन्त्रालयलका प्रवक्ता माजिद अल–अन्सारीले पत्रकार सम्मेलनमा भने, ‘सबै पक्षले रमजानको सीमिततामा आशावादीरूपमा कुनै सम्झौतामा पुग्नका लागि वार्ता जारी राखेका थिए।’ यद्यपि उनले कुनै पनि सम्झौतामा ‘कुनै समयसीमा प्रस्ताव’ गर्न नसकिने बताए।

गाजाको स्वास्थ्य मन्त्रालयका अनुसार इजराइलको जवाफी बमबारी र स्थल आक्रमणमा ३१ हजार एक सय १२ प्यालेस्टिनी मारिएका छन्। मारिनेमा अधिकांश महिला तथा बालबालिका छन्।

यसअघि कतारले नोभेम्बरको अन्त्यमा युद्धमा एक साताको विरामको मध्यस्थता गरेको थियो। युद्धविरामसँगै ठूलो सङ्ख्यामा इजराइली र विदेशी बन्धकलाई रिहा गरिएको थियो भने घेरामा परेको प्यालेस्टिनी क्षेत्रमा प्रवेश गर्न सहयोग प्राप्त भएको थियो। रासस

प्रकाशित: ३० फाल्गुन २०८० ०८:३२ बुधबार

गाजा युद्धविराम इजराइल हमास बन्धक मध्यस्थकर्ता कतार