अन्तर्राष्ट्रिय

भारतमा किसान आन्दोलन, आजपनि सरकारसँग वार्ता

भारतमा जारी किसान आन्दोलनको आज छैटौँ दिन पनि सरकारसँग वार्ताको तयारी भइरहेको छ। विभिन्न मागसहित भारतको राजधानी दिल्लीसँग जोडिएका सीमानाकामा जम्मा भएका किसान र सरकारबीच आज पनि वार्ता हुने भएको हो।

यसअघि ८, १२ र १५ फेब्रुअरीमा भएका विभिन्न चरणका वार्ताहरू निस्कर्षबिहीन बनिसकेका छन्। आजको वार्तामा सहमति हुन सक्ने अनुमान गरिएको छ।

अन्नबालीका लागि न्यूनतम समर्थन मूल्य (एमएसपी) को सुनिश्चितताको माग, किसानको ऋण मिनाहा र ६० वर्षभन्दा बढी उमेर भएका किसानलाई पेन्सनको व्यवस्था यी मागमा सहमति हुन सकेको छैन भने त्यसबाहेक सरकारले किसानका १० माग पूरा गर्न सहमत भइसकेको भारतीय सञ्चारमाध्यमहरूले जनाएका छन्।

यसैबीच, किसान आन्दोलनको क्रममा शुक्रवार भएको झडपको क्रममा एकजना किसानको मृत्यु भएको छ भने झडपका कारण हालसम्म एक सयजनाभन्दा बढी किसान घाइते भइसकेका छन्।

राजधानी दिल्ली आउन खोजिरहेका किसानलाई रोक्न प्रहरीले विभिन्न सीमानाका बन्द गरेको छ भने सुरक्षा व्यवस्था कडा बनाइएको छ।

प्रकाशित: ६ फाल्गुन २०८० ०७:३२ आइतबार

किसान आन्दोलन भारत सरकारसँग वार्ता दिल्ली अन्नबाली किसानको ऋण मिनाहा