अन्तर्राष्ट्रिय

माल्दिभ्स सरकारद्वारा ८ नेपालीसहित १२ देशका १८६ नागरिकलाई देश निकाला

माल्दिभ्सले ८ नेपालीसहित १२ देशका १८६ जना नागरिकलाई देश निकाला गरेको छ। अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरूका अनुसार देश निकाला गरिएकामा नेपालका ८, भारतका ४३, बङ्गलादेशका ८३ र श्रीलङ्काका २५ जनासहित अन्य मुलुकका गरी १८६ जना  नागरिक रहेका छन्।

भिसा उल्लङ्घन र लागुऔषध सम्बन्धी अपराधमा संलग्न रहेको आरोपमा उनीहरूलाई देश निकाला गरिएको बताइएको छ।

गैर कानूनी रुपमा सञ्चालति व्यावसायहरूलाई नियन्त्रण गर्न यस्तो कदम उठाइएको माल्दिभ्सका गृह मन्त्री अलि इहुसानले बताए।

माल्दिभ्सको अध्यागमन नियन्त्रक शमान वाहिदले अपराध गरेको पुष्टि भएपछि १८६ विदेशीलाई माल्दिभ्सबाट देश निकाला गरिएको बताए।

उनीहरूलाई कसरी स्वदेश फर्काइनेछ भन्ने विषयमा कुनै जानकारी दिइएको छैन।

यस विषयमा नेपाल सरकारलाई कुनै जानकारी नभएको परराष्ट्र मन्त्रालयले बताएको छ।

प्रकाशित: ३ फाल्गुन २०८० १७:२१ बिहीबार

माल्दिभ्स नेपाली नागरिक देश निकाला बङ्गलादेश लागुऔषध सम्बन्धी अपराध भिसा उल्लङ्घन