अन्तर्राष्ट्रिय

पाकिस्तानमा नवाज र बिलावलले मिलेर नयाँ सरकार गठन गर्ने

पाकिस्तानमा नयाँ सरकार गठनका लागि पाकिस्तान मुस्लिम लीग–नवाज र पाकिस्तान पिपल्स पार्टीले गठबन्धन गर्ने भएका छन्।

आइतवार सार्वजनिक भएको अन्तिम मतपरिणाम पछि पाकिस्तान मुस्लिम लीग–नवाजका अध्यक्ष शहबाज शरीफ र पाकिस्तान पीपल्स पार्टीका अध्यक्ष बिलावल भुट्टो तथा आसिफ अली जरदारी बीच भएको बैठक पछि नयाँ सरकार गठनका लागि राजनीतिक गठबन्धन गरेर अघि बढ्ने भएका हुन्।

बीबीसीका अनुसार लाहौरस्थित बिलावल निवासमा दुबै पार्टिबीच बैठक भएको थियो। बैठक पछि संयुक्त वक्तव्य जारी गर्दै मुस्लिम लीग (एन) र पीपुल्स पार्टी बीच राजनीतिक सहयोगमाथि सैद्धान्तिक रुपले सहमति भएको बताइएको छ।

पाकिस्तानमा गत ८ फेब्रुअरीमा भएको राष्ट्रिय सभा निर्वाचनमा पूर्व प्रधानमन्त्री इमरान खानको पार्टी तरहीक–ए–इन्साफ समर्थित स्वतन्त्र उम्मेदवारहरूले सबैभन्दा धेरै ९३ सिटमा जित हात पारेका छन् भने पीएमएल–एनले ७५ र पीपीपीले ५४ सिटमा जित हात पारेको छ। यस्तै एमक्यूएम पाकिस्तानले १६ सिटमा जित हात पारेको छ। यस्तै अन्य साना दलले गरी २० सिटमा जित हात पारेको छ।

पाकिस्तानको राष्ट्रिय सभामा ३६६ सिट छन्। जसमा २६६ सिटमा निर्वाचनको माध्यमबाट सांसद चुनिन्छन्। 

प्रकाशित: २९ माघ २०८० १०:०९ सोमबार

पाकिस्तान नयाँ सरकार गठन पाकिस्तान मुस्लिम लीग शहबाज शरीफ बिलावल भुट्टो