अन्तर्राष्ट्रिय

पाकिस्तानमा आज आम निर्वाचन, ५ हजारभन्दा बढी उम्मेदवार मैदानमा

पाकिस्तानमा आज आम निर्वाचन हुँदैछ। आगामी कार्यकालका लागि नयाँ नेतृत्त्व चयन गर्न आज निर्वाचन हुन लागेको हो।  

पाकिस्तान चुनाव आयोगका अनुसार राष्ट्रिय सभा र विधान सभाका लागि आज बिहान ८ बजेबाट मतदान सुरु हुनेछ। मतदान साँझ ५ बजेसम्म गर्न पाउने आयोगले जनाएको छ।

पाकिस्तान चुनाव आयोगका अनुसार राष्ट्रिय सभाको ३३६ सिटमध्ये आज २६६ सिटका लागि मतदान हुँदैछ। निर्वाचनमा २/२ जना यौनिक तथा अल्पसङ्ख्यक समुदायका उम्मेदवारसहित ५ हजार १ सय २१ जना उम्मेदवार चुनावी मैदानमा छन्।

पाकिस्तानमा आज हुने निर्वाचनमा १२ करोड ८५ लाख मतदाताले भाग लिने छन्।

निर्वाचनमा पाकिस्तानका कुल १६७ राजनीतिक दल वा स्वतन्त्रले भाग लिने बताइएको छ।

मतदानका लागि देशभर ९० हजार ५८२ मतदान केन्द्र निर्धारण गरिएका छन्। जसमा १७ हजार ५ सय अति संवेदनशिल केन्द्रको रुपमा छुट्याइएको छ भने ३२ हजार ५०८ संवेदनशिल र ४२ हजार ५०० मतदान केन्द्रलाई सामान्य मतदान केन्द्रको रुपमा छुट्याइएको छ।

मतदानलाई शान्तिपूर्ण तरिकाले सम्पन्न गराउन देशभर ६ लाख ५० हजारभन्दा बढी सुरक्षाकर्मी तैनात गरिएका छन्।

यसपटकको निर्वाचनमा पाकिस्तानका पूर्व प्रधानमन्त्री नवाज शरीफको चर्चा निकै छ। एनको पार्टीले यदि बहुमत ल्यायो भने आगामी सरकार उनकै बन्ने आँकलन गरिएको छ।

प्रकाशित: २५ माघ २०८० ०७:४३ बिहीबार

पाकिस्तान आम निर्वाचन निर्वाचन नयाँ नेतृत्त्व राष्ट्रिय सभा विधान सभा पाकिस्तान चुनाव आयोग