अन्तर्राष्ट्रिय

विखण्डनवादी गतिविधि सह्य हुँदैन

चीनको राजधानी बेइजिङस्थित ग्रेट हल अफ द पिपलमा आयोजना भएको नेसनल पिपल्स कंग्रेस (एनपिसी)को उदघाटन सत्रमा उपस्थित प्रतिनिधिलाई सम्बोधन गर्दै चिनियाँ प्रधानमन्त्री ली केकियाङ । तस्बिर : रोयटर्स

बेइजिङ– चीनले ताइवानबाट हुने कुनै पनि प्रकारको विखण्डनवादी गतिविधि स्वीकार नहुने चेतावनी दिएको छ।
स्वघोषित ताइवानी शासनका लागि हुने कुनै पनि  गतिविधि आफूहरुले नस्वीकार्ने चीनले सोमबार बताएको हो । ताइवानलाई अत्यन्तै महत्वपूर्ण भूभागका रूपमा लिने चीनले उसँग सुमधुर सम्बन्ध राख्दै देशको भौगोलिक अखण्डताको सुरक्षा कायम गर्ने बताएको छ।चिनियाँ संसद्को वार्षिक सत्रको उदघाटन समारोहमा सोमबार सम्बोधन गर्दै चिनियाँ प्रधानमन्त्री ली केकियाङले यस्तो चेतावनी दिएका हुन् ।

प्रधानमन्त्री लीको यस्तो कडा प्रतिक्रिया अमेरिकाले वासिङ्टन र ताइपेईबीच आधिकारिक सम्बन्ध कायम गर्ने विषयमा विधेयक ल्याएपछि आएको अनुमान गरिएको छ ।शुक्रबार मात्रै पनि चीनले राज्य सञ्चालित सञ्चारमाध्यमबाट युद्ध खतराको चेतावनी दिँदै यदि ताइवानले विदेशीसँग मात्रै भर पर्न थाल्यो भने जलेर ध्वस्त हुनेछ भनेको थियो।

कानुन बन्न अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको हस्ताक्षर मात्रै आवश्यक पर्ने अमेरिकी विधेयकमा ताइवानी समकक्षीसँग भेटवार्ता गर्नका लागि अमेरिकाले सबै तहका आफ्ना कर्मचारीलाई अनुमति दिने खालको नीति ल्याउनु पर्ने उल्लेख गरिएको छ ।

साथै, विधेयकमै ताइवानका अधिकारीहरुलाई पनि सम्मानपूर्वक तरिकाले अमेरिका भ्रमण गर्न र अमेरिकी अधिकारीसँग भेट गर्न दिइनुपर्ने विषय उल्लेख गरिएको छ।चिनियाँ संसद्मा सम्बोधन गदै प्रधानमन्त्री लीले चीन ताइवान भर शान्तिपूर्ण सम्बन्धको प्रवद्र्धन र शान्तिपूर्ण चिनियाँ एकीकरणको पक्षमा रहेको बताए।

‘हामी चीनको सार्वभौमसत्ता र राष्ट्रिय अखण्डता रक्षा गर्नका लागि प्रतिबद्ध छौं र स्वतन्त्र ताइवानका नाममा हुने कुनै पनि प्रकारको विखण्डनवादी गतिविधिलाई स्वीकार गर्ने छैनौं,’ ग्रेट हल अफ द पिपलमा करिब तीन हजार सदस्यका बीचमा लीले बताए ।‘ताइवानको दुवै क्षेत्रमा बस्ने चिनियाँ नागरिकका हिसाबले हामीबीचमा बलियो नाता रहेको छ र हामी जुनै पनि इतिहासमा जान्छौं, देशको हितका लागि हामीले सँगै काम गरेका छौं, र सँगै भविष्य पनि सिर्जना गर्ने छौं,’ उनले बताए।

ताइवानी राष्ट्रपतीय कार्यालयका प्रवक्ता हुवाङ चुङ–यनले ताइपेईमा बोल्दै भने, ‘ताइवानमा शान्ति र स्थायित्व कायम गर्नु दुवै पक्षको संयुक्त जिम्मेवारी हो ।’प्रधानमन्त्री लीले संसद्मा सम्बोधन गरिसकेपछि चीनको ताइवान मामिला कार्यालयका प्रमुख झाङ जिउनले ताइवानले आफ्नो स्वतन्त्रता प्राप्त गर्न खोजे चिनियाँ नागरिकले कहिल्यै समर्थन नगर्ने बताए।

‘स्वतन्त्र ताइवानको विखण्डनवादी गतिविधि रोक्न हामीसँग पूर्ण सामथ्र्य र आत्मविश्वास पनि छ,’ झाङलाई उद्धृत गर्दै समाचार एजेन्सी रोयटर्सले जनाएको छ । ताइवानमा सन् २०१६ मा भएको राष्ट्रपतीय निर्वाचनमा स्वतन्त्रता पक्षधर डेमोक्र्याटिक प्रोग्रेसिभ पार्टीका साई इंग–वेनले जित हासिल गरेपछि ताइवानप्रति चिनियाँ सरोकार बढेको हो ।साईले औपचारिक स्वतन्त्रतातर्फ ताइवानलाई लान खोजेको शंका चीनले गरिरहेको छ । उनले भने आफू शान्ति स्थापनाप्रति समर्पित रहेको बताउँदै आएकी छन्।

 

प्रकाशित: २२ फाल्गुन २०७४ ०२:०२ मंगलबार

विखण्डनवादी गतिविधि सह्य हुँदैन