अन्तर्राष्ट्रिय

पूर्वी गुटावासी सुरक्षित स्थलतर्फ भाग्दै

तस्विर : एजेन्सी

दमाकस– विद्रोही नियन्त्रित सिरियाको पूर्वी गुटा क्षेत्रमा सरकारी सेना अगाडि बढ्न थालेपछि स्थानीयवासी सुरक्षित स्थान खोज्दै भागिरहेको विवरण सार्वजनिक भएका छन्।

पूर्वी गुटा क्षेत्रको अवस्था अत्यन्तै जटिल भएपछि उनीहरु उक्त क्षेत्र छोडेर भाग्न थालेको बताइएको छ । शनिबार भएको भीषण लडाइँमा सरकार पक्षीय लडाकुले थप उपलब्धि हासिल गरेपछि त्रसित स्थानीयवासी सो क्षेत्र छोडेर भाग्न थालेको बिबिसीले उल्लेख गरेको छ ।

यसैबीच राजधानी दमास्कसको पूर्वी क्षेत्रमा रहेको विद्रोही नियन्त्रित गुटा क्षेत्रलाई सरकारी नियन्त्रणमा ल्याउनका लागि सिरियाली सरकारी सेनाले विभिन्न मोर्चालाई उपयोग गरेको र तिनीहरुलाई विभिन्न क्षेत्रमा खटाएको बताइएको छ ।सरकारी सेनाले विद्रोही नियन्त्रणमा रहेको उक्त क्षेत्रमा करिब १० प्रतिशत भूभाग फिर्ता लिएको सिरियन अब्जर्भेटरी फर ह्युमन राइट्स मनिटर नामक संस्थालाई उद्धृत गर्दै बिबिसीले जनाएको छ।

यसैबीच राष्ट्रसंघका एक अधिकारीका अनुसार पूर्वी गुटा क्षेत्रमा आइतबार सहायता सामाग्री पुर्‍याउने योजना सफल हुन सकेन । पूर्वी गुटाको सबैभन्दा प्रभावित डोमा सहरमा मानवयतासम्बन्धी सामाग्री बोकेका ४० वटा ट्रक ढुवानी गर्न सिरियाली अधिकारीबाट अनुमति प्राप्त नभएपछि ती ट्रकहरु युद्धग्रस्त क्षेत्रबाट बाहिरै रोकिएको बताइएको छ।

‘अत्यावश्यक सामाग्री पुर्‍याउनुको सट्टा हामीले थप लडाइँ र मृत्यु देखिरहेका छौ । त्यसैगरी हामीले भोकमरीका कैयौं रिपोर्ट प्राप्त गरेका छौं र अस्पताल जस्ता अति संवेदनशील क्षेत्र पनि बमले ध्वस्त भएको विवरण पनि प्राप्त गरिरहेका छौं,’ संयुक्त राष्ट्रसंघीय मानवीय सहायतासम्बन्धी क्षेत्रीय प्रमुख पानोस मोमटिजलाई उद्धृत गर्दै बिबिसीले जनाएको छ । ‘सर्वसाधारण नागरिकमाथि दिइएको यस्तो खालको सामूहिक सजाय अस्वीकार्य छ,’ उनले बताए।

पूर्वी गुटाको विद्रोही नियन्त्रित क्षेत्रमा करिब चार लाख मानिस फसिरहेको बताइएको छ । एक साताअघि राष्ट्रसंघीय सुरक्षा परिषद्ले सिरियामा युद्धविरामको लागि आह्वान गरेयता पूर्वी गुटा क्षेत्रमा एक सय भन्दा बढी गैरसैनिक नागरिकको ज्यान गइसकेको अनुगमन संस्थाहरूको भनाइ रहेको छ । गुटामा न त सिरियाली सरकारलाई सहयोग गर्दै आइरहेको रुसले भनेजस्तो पाँच घण्टा युद्धविराम गर्ने आदेशको कार्यान्वयन भएको छ, न नै मानवीय सहायता पुर्‍याउनका लागि सिरियाभर युद्ध विराम गर्न संयुक्त राष्ट्रसंघीय सुरक्षा परिषद्ले गरेको आह्वानलाई सम्मान गरिएको छ।

सिरियाको विपक्षी स्रोत र युद्धग्रस्त क्षेत्रबाट रिपोर्टिङ गरिरहेका पत्रकारका अनुसार बमबारीका कारण अति पूर्वी गुटाको बेइत सावा सहरका सयौं नागरिक भागेर सुरिक्षत स्थलतर्फ गइरहेका छन् । त्यसरी भाग्नेमा अधिकांश महिला र बालबालिका रहेको बताइएको छ । उनीहरु भागेर युद्धग्रस्त क्षेत्रको मध्य भागतिर गएका छन् । बेइत सावामा सिरियाको तीनमध्ये एक विपक्षी समूूूह जयस अल–इस्लामसँग सरकारी सेनाको भिडन्त भइरहेको छ । यसै वर्षको फेब्रुअरी १८ देखि सुरु भएको सरकार पक्षीय लडाकु र विद्रोही समूहबीचको लडाइँका कारण पूर्वी गुटा क्षेत्रमा मात्रै कैयौं बालबालिकासहित हालसम्म ६ सयभन्दा बढी मानिसको मृत्यु भइसकेको बिबिसीले उल्लेख गरेको छ।  

सरकारी सेनाले सर्वसाधारण नागरिकमाथि आक्रमण गरिरहेको आरोप लागिरहेको छ तर उसले विद्रोहीको नियन्त्रणमा रहेको अन्तिम क्षेत्रलाई मुक्त बनाउन आफूहरुले प्रयास गरिरहेको बताउँदै आइरहेको छ ।

 

प्रकाशित: २१ फाल्गुन २०७४ ०३:३० सोमबार

पूर्वी गुटावासी सुरक्षित स्थलतर्फ भाग्दै