अन्तर्राष्ट्रिय

पूर्वी भारतमा बीजेपीले ढाल्यो कम्युनिष्ट गढ

नयाँदिल्ली – पूर्वी भारतको तीन राज्यमा सम्पन्न विधानसभा निर्वाचनको परिणाम सार्वजनिक भएको छ। जहाँ एक राज्यमा सत्तारुढ भारतीय जनता पार्टी (भाजपा)ले बहुमत हासिल गरेको छ। 

कम्युनिष्टको गढ मानिएको त्रिपुरा राज्यमा ५ वर्षअघि सन् २०१३ मा खाता समेत खोल्न नसकेको बीजेपीले आश्चर्यजनक नतिजा ल्याएको छ। कुल ६० सीटमा ४३ सीट जित्दै बीजेपीले बहुमत हात पारेको हो। जबकी अघिल्लो चुनावमा ४९ सीट जितेको मार्क्सवादी कम्युनिष्ट पार्टी १६ सीटमा खुम्चिएको छ। त्रिपुरामा यसपटक कांग्रेस खाता खोल्न नसकेर निल भएको छ। 

नागाल्याण्डमा एनपीएफ (नागा पिपुल्स फोरम)ले सबैभन्दा बढी २७, बीजेपीले २६ र अन्य पार्टीले ४ सीट जितेका छन्। यहाँ पनि कांग्रेस निल भएको छ।

त्यस्तै, मेघालयमा कांग्रेसले सबैभन्दा बढी २१, एनपीपी (नेशनल पिपुल्स पार्टी)ले १९, युडिपी (युनाइटेड डेमेक्र्याटिक पार्टी)ले ६, बीजेपीले २ र अन्य दलले ११ सीट जितेको भारतीय सञ्चारमाध्यमले जनाएका छन्।

त्रिपुरामा बीजेपीले कम्युनिष्ट गढ ढालेपछि अध्यक्ष अमित शाह र प्रधानमन्त्री एवं पार्टीका वरिष्ठ नेता नरेन्द्र मोदीले बधाई दिँदै नयाँ युगको सुरुवात भएको बताएका छन्। अध्यक्ष शाहले भारतका लागि लेफ्ट (कम्युनिष्ट) कुनै पनि क्षेत्रमा राइट (सहि) नभएको प्रतिक्रिया दिएको सञ्चारमाध्यमले जनाएका छन्।

प्रकाशित: १९ फाल्गुन २०७४ १३:११ शनिबार

पूर्वी भारतमा बीजेपीले ढाल्यो कम्युनिष्ट गढ