अन्तर्राष्ट्रिय

पालना भएन राष्ट्रसंघको युद्धविरामको आग्रह

गेटाको एक आश्रयस्थलमा बेहोस अवस्थामा रहेकी एक महिलाई उद्धार गर्दै सिरियाली नागरिक प्रतिरक्षा टोलीका सदस्यहरू । तस्बिर : एपी

न्युयोर्क– सिरियाको राजधानी दमासकस नजिकै रहेको गुटा सहरमा जारी आक्रमण अत्यन्तै क्रुर भएको र यसबाट सयौं सर्वसाधारण र बालिबालिका मारमा परेको भन्दै संयुक्त राष्ट्रसंघले तत्कालै युद्धविरामको लागि पुनःआग्रह गरेको छ।

उक्त क्षेत्रमा चार लाख सर्वसाधारण हिंसात्मक युद्धको चपेटामा परेका छन् । उनीहरूको उद्धारका लागि कुनै पहल थालिएको छैन । उनीहरूलाई आवश्यक मानवीय सहायता पनि पुर्याउन नसकिएको समाचरहरूमा जनाइएको छ।

दमासकस र मस्कोको संयुक्त सहभागीतामा गुटा सहरमा भएको हिंसात्मक हवाइ कारबाहीलाई स्थगित गरी कम्तीमा ३० दिनका लागि युद्धविराम गर्न संयुक्त राष्ट्रसंघको सुरक्षा परिषद्ले प्रस्ताव गरेको थियो ।
सुरक्षा परिषद्मा भएको छलफलपछि तत्काल युद्धविराम गर्न संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुथ्रेसले केही दिनमात्र अघि आग्रह गरेका थिए।

महासचिव गुथे्रसले युद्धले यहाँका नागरिकलाई आक्रान्त बनाएकाले योे अवस्थाको अन्त्य गरी सिरियाको पूर्वी गुटा क्षेत्रमा तत्काल युद्धविराम गर्न माग गरेका थिए ।तर राष्ट्रसंघको यो प्रस्ताव बमोजिम युद्धविरामको तयारी भने भएको छैन । बरु मंगलबारदेखि विद्रोहीमाथिको हमला दिनमा ५ घन्टाका लागि मात्र रोकिएको सिरियाली सेनाको भनाइ आएको थियो।

विद्रोही नियन्त्रित उक्त क्षेत्रमा रुसी सहयोगका सरकारी फौजले आक्रमण जारी राख्दा उनको यस्तो टिप्पणी आएको हो । संयुक्त राष्ट्रसंघ सुरक्षा परिषद्ले गत शनिबार  सिरियाभर ३० दिने युद्धविराम गर्ने पक्षमा मतदान गरेको थियो।

सिरियाको पूर्वी भागमा पर्ने गुटा नगरमा गत एक हप्ताभन्दा लामो समयदेखि जारी रहेको भीषण हमलामा क्लोरिन ग्याससमेत प्रयोग गरेको एक चिकित्सक समूहले जानकारी दिएको छ ।यस विषयमा अहिलेसम्म सिरियाको कुनै प्रतिक्रिया आएको छैन । हाल सिरियामा जारी हवाई हमलाको भने विश्वव्यापी निन्दा भएको छ।

 

प्रकाशित: १७ फाल्गुन २०७४ ०३:४७ बिहीबार

पालना भएन राष्ट्रसंघको युद्धविरामको आग्रह