अन्तर्राष्ट्रिय

एआईका कारण विश्वको ४० प्रतिशत रोजगारी संकटमा

आर्टिफिसियल इन्टिलिजेन्स (एआई) अर्थात् कृत्रिम बौद्धिकता, जसकारण विश्वको ४० प्रतिशत रोजगारी प्रभावित हुने र यसले असमानतालाई झन् बढाउने अन्तर्राष्ट्रिय मुद्रा कोष (आइएमएफ) ले जनाएको छ।

कोषकी प्रमुख क्रिस्टपलिना जोर्जिभाले विश्वका सरकारलाई सामाजिक सुरक्षा सञ्जाल निर्माण गर्न र एआईको प्रभावलाई सम्बोधन गर्न पुनः प्रशिक्षणका कार्यक्रम सञ्चालनार्थ आग्रह गरेकी छिन्।

‘अधिकांश परिदृश्यमा एआईले समग्र असमानतालाई झन् बढाउनेछ। नीतिनिर्माताले प्रविधिले निम्त्याउन सक्ने सम्भावित सामाजिक तनावलाई सम्बोधन गर्न तत्काल ठोस पहल गर्न आवश्यक देखिएको छ,’ स्विटजरल्यान्डको डाबोसमा बल्र्ड इकोनिक फोरमको वार्षिक बैठकको पूर्वसन्ध्यामा जोर्जिभाले भनेकी छिन्। सोमबारदेखि सुरु फोरममा यो विषय प्रमुख अजेन्डा रहेको छ। सम्मेलन स्थलवरपर एआई कम्पनीका विज्ञापन राखिएका छन्।

च्याटजिपिटीका प्रमुख कार्यकारी साम अल्टम्यान र यसको सहयोगी कम्पनी माइक्रोसफ्टका प्रमुख कार्यकारी सत्य नाडेलाले यो सम्मेलनलाई सम्बोधन गर्नेछन्। उनीहरूले ‘जेनेरेटिभ एआई, चौथो औद्योगिक क्रान्तिका लागि वाष्प इन्जिन’ विषयको सत्रलाई सम्बोधन गर्ने कार्यक्रम रहेको छ।

आइएमएफकी प्रमुख जोर्जिभाले विश्वका कामदार र व्यवसायले एआईको प्रयोग गरेका कारण यसले मानवीय कार्यबल (वर्कफोर्स)लाई सहयोग र नोक्सानी दुवै गर्ने बताएकी छिन्। अन्य विज्ञले चेतावनी दिएअनुरूप नै यो संकटले सुरुमा उदयमान अर्थतन्त्र भएका राष्ट्रभन्दा समृद्ध राष्ट्रलाई बढी प्रभावित पार्ने जोर्जिभाको कथन छ। शारीरिक श्रम गर्ने कामदारभन्दा कार्यालयमा रहेर मानसिक काम गर्ने (व्हाइट कोलार वर्कर्स)लाई यसले प्रभाव पारेकाले यसको असर धनी देशमा बढी पर्ने उनले बताइन्।

जोर्जिभाका अनुसार धनी देशमा ६० प्रतिशत रोजगारी प्रभावित हुनसक्ने र आधाजसो धनी देशले एआईमार्फत उत्पादकत्व बढाउनेछन्। ‘एआईका एप्लिकेसनले हाल मानिसले गर्ने कार्य गर्दा श्रमको माग घट्नेछ। यसले कामदारले पाउने ज्यालामा कमी आउनेछ भने नयाँ कर्मचारी भर्ना घटनेछ,’ आइएमएफले गरेको समीक्षालाई उद्धृत गर्दैै जोर्जिभाले भनेकी छिन्। उनले केही चरम अवस्थामा यस प्रकारका रोजगारी पुरै गुम्न सक्ने बताइन्।

उदीयमान अर्थतन्त्र भएका राष्ट्र तथा न्यून आय भएका राष्ट्रको रोजगारीमा क्रमश ४० प्रतिशत र २६ प्रतिशतले प्रभाव पर्ने कोषको आकलन छ। उदीयमान अर्थतन्त्र भएका राष्ट्र भन्नाले लगातार आर्थिक वृद्धि गर्न सफल रहेका भारत र ब्राजिललगायतका राष्ट्र मानिन्छ भने बुरुण्डी तथा सेरालिओन जस्ता निश्चित स्तरभन्दा न्यून प्रतिव्यक्ति आय भएका राष्ट्रलाई न्यून आय भएका राष्ट्र मानिन्छ।

‘अधिकांश राष्ट्रसँग एआईले निम्त्याउने फाइदालाई हासिल गर्नसक्ने पूर्वाधार छैनन् र यसले गर्दा प्रविधिले विश्वमा असमानता बढ्ने देखिएको छ,’ जोर्जिभाले भनेकी छिन्। एआईको प्रयोगले युवा पिँढीले अधिक फाइदा लिने हँुदा यसलाई आत्मसात् नगर्ने पाका उमेरका कामदारले संघर्ष गर्नुपर्ने उनको तर्क छ।

च्याटजिपिटीले विश्वमा अत्यधिक लोकप्रियता हासिल गरेपछि गत वर्षको वल्र्ड इकोनोमिक फोरममा समेत यो निकै तातो विषय बनेको थियो। च्याटबटले निबन्ध, भाषण, कवितालगायत अन्य कतिपय कार्य गर्नसक्ने क्षमता राख्ने भएकाले यो विषयमा गहन बहससमेत भएको थियो।

विश्वका कतिपय प्रविधिसँग सम्बद्ध कम्पनीले आफ्ना कामदार कटौतीका लागि एआई प्रमुख कारण रहेको बताएका छन्। आइएमएफ प्रमुख जोर्जिभाले एआईको प्रयोगले मानवतालाई फाइदा पुग्ने दिशामा काम हुनुपर्ने बताएकी छिन्।

प्रकाशित: ३ माघ २०८० ०३:५२ बुधबार

अन्तर्राष्ट्रिय मुद्रा कोष आर्टिफिसियल इन्टिलिजेन्स एआई कृत्रिम बौद्धिकता विश्व प्रशिक्षण