अन्तर्राष्ट्रिय

पाकिस्तानका पूर्व प्रधानमन्त्री इमरान खानको उम्मेदवारी रद्द

पाकिस्तानका पूर्व प्रधानमन्त्री इमरान खान आगामी चुनाव लड्न नपाउने भएका छन्। पाकिस्तान चुनाव आयोगले जेलमा रहेका पूर्व प्रधानमन्त्री एवं पाकिस्तान तहरीक–ए–इन्साफ (पीटीआई) पार्टीका प्रमुख खानको उम्मेदवारी रद्द गरिदिएको छ।

बीबीसीका अनुसार पीटीआईका कराची अध्यक्ष खुर्रम शेर जामनले आफ्नो सामाजिक सञ्जाल एक्समा यसको जानकारी दिएका हुन्।

उनले लेखेका छन्, ‘लाहोर र मियान्वालीबाट इमरान खानको उम्मेदवारी पत्र पठाइएकोमा चुनाव आयोगले रद्द गरिदिएको छ। हामी आयोगको यस निर्णयविरुद्ध अदालत जान्छौं। तर, सर्वोच्च अदालतद्वारा आजीवन प्रतिबन्ध लगाइएका नवाज शरीफको उम्मेदवारी पत्र कसरी स्वीकार भयो? अच्चम लागेको छ।’

पीटीआईका उम्मेदवारहरूको उम्मेदवारी पत्र चुनाव आयोगले शनिवार ठूलो सङ्ख्यामा खारेज गरेपछि पार्टीले त्यसको विरोध समेत गरेको छ।

पाकिस्तानमा आगामी ८ फेबु्रअरीमा आम चुनाव हुन लागेको छ। जसका लागि शनिवार उम्मेदवारहरूका लागि उम्मेदवारी दिने अन्तिम दिन थियो।

इमरान खानलाई गत ५ अगस्टमा तोशाखाना मामिलामा दोषी ठहर्‍याउँदै तीन वर्षको जेल सजाय सुनाइए पछि चुनाव आयोगले उनलाई ५ वर्षका लागि अयोग्य भनेको थियो।

प्रकाशित: १५ पुस २०८० ०२:५४ आइतबार

पाकिस्तान पूर्व प्रधानमन्त्री प्रधानमन्त्री इमरान खान चुनाव पाकिस्तान चुनाव आयोग कराची चुनाव आयोग उम्मेदवारी रद्द