अन्तर्राष्ट्रिय

तुवाँलोले ढपक्कै ढाक्यो दिल्लीलाई

वायु प्रदूषणका कारण भारतको नयाँ दिल्लीमा बाक्लो तुवाँलोले ढाकेको छ। स्विट्जरल्यान्डमा रहेको वायुप्रदूषण मापन गर्ने संस्था आइक्यु एयरका अनुसार शुक्रबार साँझ नयाँ दिल्ली विश्वकै सबैभन्दा धेरै प्रदूषित सहरको सूचीमा रहेको हो।  

वायुको गुणस्तर सूचकांक(एक्युआई)मा शुक्रबार साँझ दिल्लीको वायु प्रदूषणले ४०० अंक नाघेको छ। यो स्तरको प्रदूषणलाई जनस्वास्थ्यको हिसाबले अत्यन्त घातक मानिन्छ। भारतीय समाचार संस्था एएनआईका अनुसार पछिल्ला दिनमा नयाँ दिल्लीको वायु प्रदूषण ह्वात्तै बढेको छ।

 उत्तर भारत तथा दिल्लीलाई ढाकेको यो तुवाँलोका कारण भिजिबिलिटी कम हुँदा कतिपय हवाई उडान तथा रेलसेवासमेत प्रभावित भएको भारतीय समाचार माध्यमले जनाएका छन्। यी स्थानमा ५० मिटर मात्र भिजिबिलिटी रहेको बताइएको छ। बाक्लो तुवाँलोका कारण शुक्रबार ११ वटा रेलसेवा ढिलो भएको भएका थिए। पिटिआईका अनुसार कतिपय रेलसेवा ३ देखि ४ घण्टाले ढिला भएका थिए।  

स्थानीय स्तरमा गरिने उत्सर्जन, छिमेकी राज्यमा कृषि अवशेष बाल्ने कार्य तथा तापक्रम घट्दा भारतीय राजधानीमा प्रदूषण हरेक वर्ष बढ्ने गर्दछ। भारतको मौसम विभागले नयाँ वर्षको पूर्वसन्ध्यामा यो प्रदूषण झन् बढ्नसक्ने बताएको छ। नयाँ वर्षको अवसरमा पटाका पड्काउँदा प्रदूषण झन् बढ्नसक्ने विभागले बताएको छ। विभागले पन्जाव र उत्तर प्रदेशमा समेत बाक्लो तुवाँलो लाग्ने बताएको छ।  

प्रकाशित: १४ पुस २०८० ०३:१६ शनिबार

वायु प्रदूषण दिल्लीमा बाक्लो तुवाँलो