अन्तर्राष्ट्रिय

उत्तर कोरियाको मिसाइल म्यानमारमा ?

न्युयोर्क – आणविक हतियारको विकासले विश्वमै चर्चामा रहेको उत्तर कोरियाले म्यानमारमा ब्यालेस्टिक मिसाइल पठाएको दाबी गरिएको छ। 

संयुक्त राष्ट्रसंघले भर्खरै सार्वजनिक गरेको एक रिपार्टमा उत्तर कोरियाले म्यानमारमा मिसाइल र सिरियामा ज्यान लिने खतरनाक रसायनिक हतियार निर्यात गरेको दाबी गरिएको छ।

सिरियामा लामो समयदेखि गृहयुद्ध जारी छ। गत वर्ष इदलिब सहरमा भएको रसायनिक हमलामा ११ बालकसहित ५८ जनाको मृत्यु भएको थियो। सिरियाको सरकारलाई रुसी समर्थन रहेको छ। रुस उत्तर कोरियाको व्यापारिक साझेदार हो। 

विशेषज्ञको टोलीले लामो अध्ययनपछि तयार पारेको राष्ट्रसंघको उक्त रिपोर्टमा उत्तर कोरियाले ब्यालेस्टिक मिसाइल उपलब्ध गराएको उल्लेख छ। रिपोर्टमा उत्तर कोरियाले म्यानमार र सिरियालाई सघाएको प्रमाण समेत राष्ट्रसंघसँग सुरक्षित रहेको दावी गरिएको छ। 

म्यानमार र सिरियामा हतियार निर्यातका लागि सेनाले सहयोग गरेको पनि रिपोर्टमा उल्लेख छ। तर, राष्ट्रसंघका लागि म्यानमारका राजदूतले आफ्नो देशको उत्तर कोरियासंग कुनै सम्वन्ध नरहेको बताएका छन्। 

रिपोर्टका अनुसार चीन, रूस र  मलेसिया समेत उत्तर कोरियाको गैरकानूनी हतियार निर्यात रोक्न असफल रहेका छन्। उत्तर कोरियाले गत वर्ष सन् २०१७ मा प्रतिबन्धित वस्तु निर्यात गरेर करिब २ सय मिलियन डलरको व्यापार गरेको बीबीसीले जनाएको छ। 

प्रकाशित: २० माघ २०७४ १४:५२ शनिबार

उत्तर कोरियाको मिसाइल म्यानमारमा