अन्तर्राष्ट्रिय

लालु यादवलाई थप ५ वर्ष जेल

नयाँदिल्ली – विहारको चर्चित चारा घोटालामा पूर्वमुख्यमन्त्री लालु यादवलाई थप ५ वर्ष जेल सजायँ सुनाइएको छ। बुधबार सिबीआईको विशेष अदालतले चारा घोटालासँग सम्बन्धित तेस्रो मुद्दामा लालुलाई ५ वर्ष सजाय र १० लाख जरिवाना तिर्नुपर्ने फैसला सुनाएको भारतीय सञ्चारमाध्यमले जनाएका छन्।

यो मुद्दा चाइबासा कोषको हिनामिनासँग सम्बन्धित छ। १९९० मा चाइबासा ट्रेजरीबाट अवैध रुपमा ३५.६२ करोड निकासा गरी हिनामिना गरिएको थियो। यो मुद्दामा लालुका अलावा विहारकै पूर्वमुख्यमन्त्री जगन्नाथ मिश्रसहित ५० जना दोषी ठहर भएका छन्। मिश्रलाई पनि ५ वर्ष जेल र ५ लाख जरिवाना सुनाइएको छ।

चारा घोटालाअन्तर्गत लालुलाई यसअघि पहिलो मुद्दामा ५ र दोस्रो मुद्दामा साढे ३ वर्ष सजाय भइसकेको छ। उनले जेलमा बसेर उक्त सजाय काटिरहेका बेला थप सजाय सुनाइएको हो।

सिबीआई अदालतको फैसलापछि लालुका छोरा एवं विहारका पूर्वउपमुख्यमन्त्री तेजस्वी यादवले आफ्ना पितालाई विजेपी र नितिशकुमारको आरजेडीले फसाएको भन्दै हाईकोट जाने बताएका छन्।

प्रकाशित: १० माघ २०७४ ०८:५४ बुधबार

लालु यादवलाई जेल