अन्तर्राष्ट्रिय

कम्युनिस्ट नेतालाई जेल सजाय

हनोई – भियतानको कम्युनिस्ट पार्टीका पूर्व अधिकारीलाई १३ वर्षको जेल सजाय तोकिएको छ ।

दशकौं पछि भएको उच्च तहको कानुनी सुनुवाईपछि राज्य सञ्चालित तेल कम्पनी ‘पेट्रोभियतनाम’ मा आर्थिक अस्तव्यस्ता सिर्जना गरी नोक्सान पुर्याएको भन्ने मुद्दामा दोषी ठहर गर्दै भियतनाम कम्युनिस्ट पार्टीका पूर्व पोलिटब्युरो सदस्य डिन्ह ला थाङलाई जेल सजाय तोकिएको बिबिसीले उल्लेख गरेको छ । यसै मुद्दामा अर्का अधिकारी ट्रिन्ह सुवान थान्हलाई भने आजीवन कारावासको सजाय तोकिएको बताइएको छ ।यो सुनुवाई भियतनामको ऊर्जा र बैंकिंग क्षेत्रका अधिकारीले गर्ने भ्रष्टाचारको एउटा तस्बिर भएको बताइएको छ ।

जर्मनीमा राजनीतिक शरण लिइरहेका डिन्ह ला थाङलाई बर्लिनबाट गैरकानुनी रूपमा अपहरण गरेको जर्मन विदेशमन्त्रीले आरोप लगाएपछि यो मुद्दामा गत वर्षबाट अन्तर्राष्ट्रिय ध्यानाकर्षण भएको थियो । यस मुद्दाको सुनुवाईलाई लिएर केहीले भियतनामी कम्युनिस्ट पार्टीले भ्रष्टाचारविरुद्ध गरिरहेको लडाइँको उदाहरणका रूपमा अगाडि सारेका छन् । तर केही आलोचकले भने भियतनामको सत्तारुढ पार्टीको अधिकारीका विपक्षीमाथिको आक्रमणका रूपमा समेत व्याख्या गरेको बिबिसीले जनाएको छ । राजधानी हनोईमा विदेशी सञ्चारमाध्यम नजिक रहेका अन्य २० जना मानिसलाई पनि सजाय सुनाइएको बतायएको छ ।

उनीहरुलाई तीन वर्षदेखि नौ वर्षसम्म जेल सजाय तोकिएको बिबिसीले उल्लेख गरेको छ ।
दुई वर्ष अघि भएको भियतनाम कम्युनिस्ट पार्टीको महाधिवेशनमा संर्किण धारले पोलिटब्युरोमा नियन्त्रण जमाएपछि वर्खास्त गरिएका प्रधानमन्त्री न्गुएन तान डङको प्रधानमन्त्रीकालमा रहेका अधिकारीहरुले अकुत सम्पत्ति आर्जन गरेको दाबी गर्दै आएको छ । कम्युनिस्ट पार्टीका नेतृत्वले अति प्रचारवाजी शैलीमा डङका नजिकका मानिसविरुद्धको मुद्दालाई अगाडि बढाइरहेका छन् । उनीहरुले सर्वसाधारणलाई आफूहरु भ्रष्टाचारविरुद्धमा काम गरिरहेको देखाउन खोजिरहेका छन् ।

एकल पार्टी व्यवस्था रहेको भियतनाममा थाङलाई भियतनामी राजनीतिको उदाउँदो नक्षत्रका रूपमा लिने गरिन्थ्यो ।  उनलाई कम्युनिस्ट पार्टीको पोलिटब्युरोबाट गत मे महिनामा निलम्बन गरिएको थियो । यस्तो घटना एकल पार्टी व्यवस्था रहेको देशमा विरलै हुने गरेको पनि बिबिसीले उल्लेख गरेको छ ।  भियतनामले सन् १९८६ मा आर्थिक सुधारको थालनी गरेदेखि हालसम्म केवल दुई जना पोलिटब्युरो सदस्यलाई मात्रै पदबाट वर्खास्त गरेको छ ।  थाङलाई नेतृत्वमा रहँद्या जटिल नियम तोडेको र त्यसले पार्टीको इज्जतमा धक्का लागेको आरोप लाग्दै आएको छ ।

गत साता रुँदै क्षमा मागेका थाङले अदालतसमक्ष माफी दिन आग्रह गरेका थिए । सरकारी कोष दुरुपयोग गरेको आरोपमा थाङले बुधबार अर्को सुनुवाईको सामना गर्नुपर्ने छ । गत सेप्टेम्बरमा पेट्रोभियतनामका प्रमुख न्गुएन सुवानका छोरालाई भ्रष्टाचारमा भूमिका रहेको भन्दै मृत्युदण्ड तोकिएको थियो ।

 

 

प्रकाशित: ९ माघ २०७४ ०३:१६ मंगलबार

कम्युनिस्ट नेतालाई जेल सजाय