अन्तर्राष्ट्रिय

फ्रान्सेली कारागार सुरक्षाकर्मीद्वारा राष्ट्रव्यापी आन्दोलन

सुरक्षा र तलब वृद्धिको माग गर्दै आन्दोलनमा उत्रिएका फ्रान्सेली कारागार सुरक्षाकर्मीद्वारा भिल्लेफ्रान्से–सुर–सावोन कारागार अगाडि गरेको आगजनी । तस्बिर - एएफपी

पेरिस – शृंखलाबद्ध रूपमा कैदीबन्दीद्वारा आक्रमणका घटना बढ्न थालेपछि फ्रान्सेली करागार सुरक्षाकर्मीले देशव्यापी आन्दोलन सुरु गरेका छन् ।

कारागारको सुरक्षामा सुधार र ज्यालामा वृद्धि गर्नुपर्ने विषयमा सरकारसँग भइरहेको विवाद दोस्रो साता प्रवेश गरेको दिन सोमबार जेल सुरक्षाकर्मीसम्बद्ध युनियनले देशभरका कारागरलाई पूर्ण रूपमा बन्द गरेको दाबी गरेका छन् ।

कारागार सुरक्षाकर्मीले राष्ट्रपति इमानुएल म्याक्रोंको सरकारसँग कारागारमा रहेको खचाखच भीडलाई नियन्त्रण गर्नुपर्ने र कर्मचारीको संख्या वृद्धि गर्नुपर्नेलगायतका माग अगाडि सारेका छन् ।
देशभरमा रहेको कारागारका सुरक्षाकर्मीले आन्दोलन तीब्र बनाएपछि फ्रान्सका न्यायमन्त्री निकोल बेलोबेटले यस संकट समाधानको प्रयास गर्न युनियनका नेताहरुसँग भेट्ने बताएकी छिन् ।

गत साता सरकारले आन्दोलन अन्त्य गर्न गरेको आग्रह कारागार सुरक्षाकर्मीसम्बद्ध युनियनहरुले अस्वीकार गरेका थिए । फ्रान्सका सिजिटी युनियन, द फोर्स अभिरयरी (एफओ) र उफाप–उन्सा न्याय युनियनले समर्थन गरेको सोमबारको प्रदर्शनमा उच्च सुरक्षा संस्थाहरु फ्लेउरी–मेर्गोइस र राजधानी पेरिसभन्दा बाहिर रहेको फ्रेसनेस कारागारसहितका देशभरका कारागारका सुरक्षाकर्मीले सहभागिता जनाएको बिबिसीले उल्लेख गरेको छ । कारागार सुरक्षाकर्मीले सोमबार देशभरका एक सय ८८ कारागार बाहिर टायर बालेर आन्दोलन गरेका छन् । कारागार सुरक्षाकर्मी आन्दोलनमा उत्रिएपछि कैयौं कारागार सुरक्षाका लागि सरकारले प्रहरी पठाएको थियो ।

फ्रान्सको न्याय मन्त्रालयले वार्ताको तत्काल थालनी गर्न युनियन प्रतिनिधिहरुलाई आग्रह गरेको छ । उसले कैदीबन्दीले गरिरहेको कार्यलाई रोक्न सबै पक्षको दायित्व रहेको पनि बताएको छ । फ्रान्सभरका विभिन्न कारागारमा रहेका कैदीबन्दीले कारागार सुरक्षामा खटिएका सुरक्षाकर्मीमाथि हातपात गरी कैयौंलाई घाइते बनाएपछि आन्दोलन सुरु भएको हो । गत साता दक्षिणी फ्रान्समा रहेको फ्रेसनेस कारागारमा कैदीबन्दीले गरेको आक्रमणमा तीन जना सुरक्षा अधिकारी घाइते भएका थिए ।

फ्रान्सेली सहर कालेसमा रहेको लंगीनेस कारागारमा रहेको थुना केन्द्रमा आइतबार कैदीले आक्रमण गर्दा दुई सुरक्षाकर्मी घाइते भएर अस्पताल लानुपरेको कारागारका अधिकारीलाई उद्धृत गर्दै बिबिसीले जनाएको छ । ‘यो फेरि एकपटक कर्मचारीमाथि भएको आक्रमण हो, हामी चुप लागेर बस्न सक्दैनौं,’ उफाप–उन्सा युनियनका प्रवक्ता यान्निक लेफ्ब्रेलाई उद्धृत गर्दै बिबिसीले जनाएको छ । उनले यस्तो आक्रमण दैनिकजसो भइरहेको पनि आरोप लगाएका छन् । चार वर्षभित्र एक हजार एक सय कारागार सुरक्षाकर्मीको जागिर सिर्जना गर्ने मस्यौदा सम्झौता अस्वीकार गरेपछि फ्रान्सेली युनियनहरुले थप आन्दोलनका गतिविधि गरिरहेका छन् ।

फ्रान्सेली समाचार एजेन्सी एएफपीले जनाएअनुसार हाल फ्रान्समा २८ हजार कारागार सुरक्षाकर्मीले देशभरका एक सय ८८ कारागारमा रहेका करिब ७८ हजार कैदीबन्दीलाई हेरिरहेका छन् ।कैदीबन्दीले आक्रमण गरेको विरोधमा देशभरका कारागार सुरक्षाकर्मीले गरेको आन्दोलनका कारण राष्ट्रपति इमानुएल म्याक्रोंमाथि यस समस्याको समाधान गर्न दबाब सिर्जना भएको समाचार एजेन्सी रोयटर्सले जनाएको छ ।

कारागार सुरक्षाकर्मीले करबाहेक अहिले विद्यमान तलबलाई न्युनतम एक हजार चार सय युरो बनाउनुपर्ने मागसमेत अगाडि सारेका छन् । सन् १९७० को दशकपछि फ्रान्समा कैदीको संख्या ठ्याक्कै दोब्बर भएको छ । हिंस्रक कैदीलाई सम्हाल्न आफूहरुसँग पर्याप्त कर्मचारी र सामाग्री नभएको कारागार सुरक्षाकर्मीले बताउँदै आएका छन् ।

‘एक सय वा एक सय ५० कैदीबन्दीलाई हेर्न एक जनामात्रै कारागार सुरक्षाकर्मी राख्ने अनि एउटा सिट्ठी मात्रै दिएर हुँदैन,’ युनियन नेता योआन करारलाई उद्धृत गर्दै समाचार एजेन्सी रोयटर्सले जनाएको छ । उनले सम्पूर्ण कारागार सुरक्षाकर्मीलाई बन्दुक दिनुपर्ने मागसमेत गरेका छन् ।
 

 

प्रकाशित: ९ माघ २०७४ ०२:५८ मंगलबार

फ्रान्सेली कारागार सुरक्षाकर्मीद्वारा राष्ट्रव्यापी आन्दोलन