अन्तर्राष्ट्रिय

कजाकिस्तानमा बसमा आगो लाग्दा ५२ को मृत्यु

बेइजिङ – कजाकिस्तानमा गुडिरहेको यात्रुबाहक बसमा आगो लाग्दा ५२ जनाको मृत्यु भएको छ। 

उत्तर पश्चिम एक्टोब क्षेत्रको लारजिज जिल्लामा विहीबार बिहान १०ः३० बजे  यात्रुबाहक बसमा आगो लाग्दा ५२ जनाको मृत्यु भएको र ५ जनाको जिवितै उद्धार गरिएको काजकिस्तानको गृह मन्त्रालयलाई उद्धृत गर्दै अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएको छ। 

रुसबाट उज्बेकिस्तानका नागरिक बोकेर आएको बस समारा–श्यामकेन्ट मार्गमा दुर्घटना भएको हो। २२ सय किलोमिटर लामो यो मार्गबाट रुसका निर्माण स्थलका लागि उज्बेकन प्रवासी श्रमिकलाई ओहोर दोहोर गर्न प्रयोग गरिन्छ।

आपतकालिन सेवा मन्त्रालयले बसमा ५५ जना यात्रु र दुई चालक रहेको जानकारी दिएको छ। दुर्घटनामा ५ यात्रुको उपचार भइरहेको र बाँकी सबैको ज्यान गएको मन्त्रालयद्वारा जारी विज्ञप्तिमा उल्लेख छ।

बसमा आगो लाग्नुको कारण खुल्न सकेको छैन्।

प्रकाशित: ४ माघ २०७४ ०९:१६ बिहीबार

कजाकिस्तानमा बसमा आगो लाग्दा ५२ को मृत्यु