अन्तर्राष्ट्रिय

इजरायल–भारत सम्बन्धमा ‘नयाँ युग’ : नेतान्याहु

नयाँ दिल्ली - भारत भ्रमणमा रहेका इजरायली प्रधानमन्त्री वेन्जामिन नेतान्याहुले भारतसँग केही महत्वपूर्ण सम्झौता गरेपछि सोमबार सञ्चारकर्मीसँग दिएको प्रतिक्रियामा इजरायल–भारत सम्बन्धमा नयाँ युगको थालनी भएको बताएका छन् ।

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग सोमबार भएको कुराकानीपछि नेतान्याहुले भने, “हामीले आज दुई मुलुकबीच नयाँ सम्बन्धको शुरुवात गरेका छौँ ।”

प्रधानमन्त्रीका रूपमा सन् २०१७ को जुलाईमा इजरायलको भ्रमण गरेका पहिलो भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँगको भेटवार्तापछि नेतान्याहुले उक्त कुरा बताएका हुन् ।इजरायल र भारतबीच कुटनीतिक सम्बन्ध स्थापना भएको २५ बर्ष भएपनि अहिले आफ्नो भ्रमणबाट विशेष उपलव्धि भएका उनको ठहर थियो ।

नेतन्याहु विगत १५ बर्षयता इजरायली प्रधानमन्त्रीका रूपमा भारत भ्रमण गर्ने पहिलो प्रधानमन्त्री हुनुहुन्छ । नेतान्याहुले उनकी धर्मपत्नीसहित १३० सदस्यीय इजरायली प्रतिनिधिमण्डलको नेतृत्व गरेका छन्  । इजरायली नेतासँग भ्रमणमा आएको यो सवैभन्दा ठूलो व्यापारिक प्रतिनिधिमण्डल भनी बताइएको छ ।

टोलीमा प्रविधि, कृषि तथा प्रतिरक्षा मामिला हेर्ने व्यापारिक क्षेत्रका विज्ञहरूको सहभागिता रहेको छ ।
नेतन्याहु र मोदीबीचको भेटले अमेरिकी पहलमा संयुक्त राष्ट्रसङ्घको महासभामा जेरुसेलमलाई इजरायलको मान्यता दिने प्रस्तावमा भारतले विरुद्धमा मतदान गर्ने निर्णयपछि भारतसँग ‘असन्तुष्ट’ देखिएको इजरायलसँगको तनाव पनि मथ्थर भएको देखिएको छ । भारत र इजरायलले आजै साइबर सुरक्षा तथा उर्जा बिषयमा महत्वपूर्ण सम्झौता गरेका छन् ।

इजरायल भारतमा हतियार आपूर्ति गर्ने मध्येको एक महत्वपूर्ण राष्ट्र हो । भारतले इजरायलबाट बार्षिक एक अर्ब बराबरको सैनिक हतियार तथा अन्य सामग्री निर्यात गर्दै आएको छ ।
यसैबर्ष पनि भारतले सतहबाट सतहमा आक्रमण गर्नसक्ने १३१ क्षेप्यास्त्र किन्ने घोषणा गरेको थियो । तर नयाँ दिल्लीले प्यालेष्टिनीहरूका कारण यजरायलसँगको सम्बन्धलाई सन्तुलित गर्न देशभित्र ठूलो दवाव रहेको छ ।

नेतान्याहु छ दिनको भारत भ्रमणका शिलशिलामा आइतबार नयाँ दिल्ली आएका  हुन् नेतान्याहुको भ्रमण भारत र इजरायलबीच दुईपक्षीय प्रतिरक्षा तथा व्यापारिक सम्बन्धमा सुधार ल्याउने बिषयमा केन्द्रित हुने बताइएको छ ।

विदेश मामिला मन्त्री शुषमा स्वराजले पनि नेतान्याहुलाई आइतबार नै भेटेकी  थिइन् भने प्रधानमन्त्रीले आफै विमानस्थल पुगी उनले स्वागत गरेकी  थिइन् ।

सोमबार नेतन्याहुले भारतीय राष्ट्रपति रामनाथ कोविन्दसँग भेटेका थिए  ।इजरायली प्रधानमन्त्री तथा उनकी धर्मपत्नी मङ्गलबार ऐतिहासिक ताजमहलको भ्रमण गरेका छन् ।

भ्रमणका क्रममा इजरायल र भारतबीच प्रतिरक्षा, नवीकरणीय उर्जा लगायतका क्षेत्रमा संयुक्त लगानी गर्ने सम्झौताको घोषणा गर्ने कार्यक्रम महत्वपूर्ण रहेको इजरायलका विदेशमन्त्रालयका उप–महानिर्देशक गिल कोहेनले बताए । रासस

प्रकाशित: २ माघ २०७४ ०५:३३ मंगलबार

इजरायल–भारत सम्बन्धमा युग नेतान्याहु