अन्तर्राष्ट्रिय

चीनमा नियमविपरित खुलेको दोस्रो चर्च ध्वस्त

बेइजिङ – चीनमा नियमविपरित खुलेको एक चर्चलाई ध्वस्त पारिएको छ। उत्तरी चीनस्थित सान्सी प्रान्तस्थित लिनफेनमा रहेको गोल्डन लैपस्ट्याण्ड चर्चलाई आइतबार ध्वस्त पारिएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन्।

एक महिनामा ध्वस्त पारिएको यो दोस्रो चर्च हो। यसअघि अघिल्लो महिना सान्सीको छिमेकी प्रान्तमा पनि एक क्याथोलिक चर्च कथित रुपमा ध्वस्त पारिएको थियो।

प्रहरीका अनुसार आइतबार सान्सी प्रान्तस्थित लिनफेनमा रहेको गोल्डन लैपस्ट्याण्ड चर्चलाई चारैतिरबाट घेरा हालेर श्रमिकहरुले भित्र विस्फोट गराएका थिए। सुरुवाती विस्फोटपछि कर्मचारीले घटनास्थलमा उत्खनन गरी हतौडाले भवनहरु टुक्रा टुक्रा पारेको र डोजरले सफाई गरेको प्रत्यक्षदर्शी र पादरीले बताएका छन्।

चीनमा धार्मिक गतिविधीमा कडाई गरिएको छ। आधिकारिक स्वीकृती नलिने चर्च र नियम पालन नगर्ने पादरीलाई बेला बेला कारवाही हुँदै आएको छ। यस्ता चर्चलाई ध्वस्त गर्ने र पादरीलाई नियन्त्रणमा लिने घटना चीनमा भइरहन्छन्।  

इसाईहरुविरुद्ध कठोर अभियान सञ्चालन भइरहेको आशंका गरिएका बेला चिनियाँ अधिकारीहरुले धर्ममाथि नयाँ कानून लागु गर्ने तयारी गरेका छन्।

प्रकाशित: २७ पुस २०७४ १४:४८ बिहीबार

चीनमा नियमविपरित खुलेको दोस्रो चर्च ध्वस्त