अन्तर्राष्ट्रिय

दक्षिणसँग वार्ता गर्न उत्तर काेरियाकाे हटलाइन

प्याङयोङ – विन्टर ओलम्पिकमा सहभागिताको सम्भावनाबारे दक्षिणसँग वार्ता गर्न उत्तर कोरियाले एक हटलाइन खोलेको छ। 

नेता किम जोंग उनको निर्देशनमा २ वर्षपछि हटलाइन खोलिएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन्। 

उत्तर कोरियाली अधिकारीले एक टेलिभिजन सम्बोधनमार्फत हटलाइन खोलिएको घोषणा गरेका थिए। उनले यसको उद्देश्य दुई देशबीच उत्तर कोरियाका खेलाडी प्योनचांग पठाउनेबारे दक्षिणसँग व्यवहारिक मुद्दामा छलफल गर्नु रहेको बताए।
दक्षिण कोरियाले पनि बुधबार उत्तरबाट एक फोन आएको पुष्टि गरेको छ। तर, संक्षिप्त फोनमा के कुरा भयो भन्ने खुलाइएको छैन्। 

सोमबार मात्रै उत्तर कोरियाली नेता किमले विन्टर ओलम्पिकमा उत्तर कोरियाको सहभागिताको सम्भावनाबारे दक्षिण कोरियासँग वार्ता गर्न तयार रहेको बताएका थिए। किमको बयानपछि दक्षिण कोरियाले मंगलबार आगामी ९ जनवरीमा उच्च स्तरीय बैठकका लागि उत्तर कोरियासँग प्रस्ताव गरेको थियो।

डिसेम्बर २०१५ देखि दुई देशले उच्चस्तरीय वार्ता गरेका छैनन्। 

प्रकाशित: १९ पुस २०७४ १४:३५ बुधबार

दक्षिणसँग वार्ता गर्न उत्तर काेरियाकाे हटलाइन