अन्तर्राष्ट्रिय

इन्डोनेसियाको बोर्नओमा डुङ्गा दुर्घटना, आठको मृत्यु

जकार्ता – इन्डोनेसियाको बोर्नेओ तटीय क्षेत्रमा सोमबार एक यात्रुवाहक डुङ्गा दुर्घटना हुँदा कम्तीमा आठ जनाको मृत्यु भएको छ। इन्डोनेसियामा भएको यो पछिल्लो भीषण दुर्घटना हो । 

इन्डोनेसियाको बोर्नेओ प्रान्तको तानजुङ सेलोरपारमा प्रवेश गरेको केही मिनेटमा नै दुर्घटना भएको जनाइएको छ। सो डुङ्गामा करिब ४५ व्यक्ति सवार रहेका र अझै कैयौँ बेपत्ता रहेका छन्। 

दुर्घटनापछि उद्धारकार्यको क्रममा ३३ व्यक्तिलाई नौसेनाले उद्धार गरेका बताइएको छ। हावाहुरीका कारण बाँकी यात्रुको उद्धारकार्यमा कठिनाई भएको जनाइएको छ। 

दुर्घटनाको कारण प्रष्ट हुन सकेको छैन। तर बेपत्ता भएका यात्रुको यकिन सङ्ख्या पत्ता लगाउने कोशिस भइरहेको वरिष्ठ सरकारी अधिकारी गुस्ती अन्वार मुल्यादीले बताए । 

गत जुलाइमा पनि सोही मार्ग तराकानबाट तानजुङ सेलोरतर्फ गइरहेको एक डुङ्गा दुर्घटना हुँदा आठ जना यात्रुको मृत्यु भएको थियो। 

त्यसैगरी गत वर्षको जनवरी १ मा पनि नयाँ वर्ष मनाउन हिँडेका २३ जना यात्रुको जकार्तामा डुङ्गा दुर्घटनामा परी मृत्यु भएको थियो। 

प्रकाशित: १७ पुस २०७४ १०:१८ सोमबार

इन्डोनेसियाको बोर्नओमा डुङ्गा दुर्घटना आठको मृत्यु