अन्तर्राष्ट्रिय

इजिप्टको मार मिना चर्चमा आक्रमण, १०को मृत्यु

कायरो – कायरोको दक्षिणी क्षेत्रमा रहेको एउटा चर्च अगाडि एक बन्दूकधारीको समूहले गरेको आक्रमणमा परी कम्तीमा दश जनाको मृत्यु भएको छ।
 
सरकारी सुरक्षा निकायले आक्रमणकारीहरूको पहिचान गर्न असफल भएको इजिप्टको सरकारी संचार माध्यमले जनाएको छ।
 
“कायरोको हेल्वान जिल्लामा रहेको मार मिना चर्चमा आक्रमण भएको हो, तर आक्रमणकारीहरुको पहिचान हुन सकेको छैन,” गृह मन्त्रालयद्वारा जारी विज्ञप्तिमा जनाइएको छ। 

आक्रमणकारी मध्येकै एक जना मारिएको र अर्को एक जना मोटरसाइकलमा भागेको देखिएको विज्ञप्तिमा उल्लेख गरिएको छ। 

दोहोरो गोली हानाहानमा परी प्रहरी तर्फका दुई जनाको पनि मृत्यु भएको गृह मन्त्रालयले पुष्टि गरेको छ। 

इजिप्टका स्वास्थ्य मन्त्रीले मृत्यु हुनेहरुको सङ्ख्या दश पुगेको बताए। उनले अरु पाँच जना घाइते भएको पनि जनाए। घाइते मध्ये दुई जनाको अवस्था गम्भीर रहेको छ।
 
मारिने मध्ये दुई जना मुस्लीम रहेका छन्। एक जना आक्रमणकारी, एक जना प्रहरी र आठ जना कम्पट चर्चका सदस्य मारिएको स्वास्थ्य मन्त्रीले जानकारी दिए। 

चर्चलाई नै लक्षित गरेर विस्फोटन गर्न लागिएको दुई ओटा बम बम डिस्पोजल टोलीले निश्क्रिय बनाएको छ। 

घटना लगत्तै सुरक्षाकर्मीहरुले घटनास्थल वरिपरी लडाकूहरुको खोजी गरेको सरकारी समाचार संस्था मेनाले जनाएको छ। आक्रमणको अहिलेसम्म कुनै पनि समूहले जिम्मेवारी लिएको छैन। 

प्रकाशित: १४ पुस २०७४ १३:१३ शुक्रबार

इजिप्टको मार मिना चर्चमा आक्रमण १०को मृत्यु