अन्तर्राष्ट्रिय

साउदी अरेवियालाई लक्षित गर्दै विद्रोहीद्वारा क्षेप्यास्त्र प्रहार

यमन – यमनको विद्रोही समूह हुथीले साउदी अरेवियालाई लक्षित गर्दै क्षेप्यास्त्र प्रहार गरेको छ।

विद्रोही समूहले बुर्कान टु नामक क्षेप्यास्त्र रियादको राजदरबारलाई लक्षित गरी प्रहार गरेको थियो । साउदी राजदरबारमा बैठकमा रहेका उच्च पदस्थ नेताहरूलाई लक्षित गरी उक्त क्षेप्यास्त्र प्रहार गरिएको साउदी सेनाले बताएको छ।

उक्त क्षेप्यास्त्रलाई साउदी सेनाले रोक्ने प्रयास गरेतापनि रियादमा क्षेप्यास्त्र विस्फोटको आवाज सुनिएको प्रत्यक्षदर्शीहरूको भनाई उद्धृत गर्दै अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरूले उल्लेख गरेका छन्।

यमन सरकारलाई सहयोग गरेको भन्दै सरकार विरोधी हुथी विद्रोहीहरूले रियाद लक्षित क्षेप्यास्त्र प्रहार गरेका हुन् । साउदी सेनाले यमन सरकारको समर्थन गर्दै हुथी विद्रोहीहरू विरुद्व लडिरहेको छ।

प्रत्यक्षदर्शीहरूले क्षेप्यास्त्र प्रहार पश्चातको धुँवा उडिरहेको तस्बिर सामाजिक सञ्जालमा पोष्ट गरेका छन् । विद्रोही समूह हुथीलाई इरान सरकारले समर्थन गर्दै आएको छ।

क्षेप्यास्त्र प्रहारका लागि आवश्यक सामाग्री इरान सरकारले नै हुथी विद्रोहीलाई उपलब्ध गराएको साउदी अरेविया तथा अमेरिकाको आरोप छ।

प्रकाशित: ५ पुस २०७४ ०५:२४ बुधबार

साउदी अरेवियालाई लक्षित गर्दै विद्रोहीद्वारा क्षेप्यास्त्र प्रहार