अन्तर्राष्ट्रिय

विद्रोही नियन्त्रित क्षेत्रमा राहत सामग्री पुग्दै

सानामा– संयुक्त राष्ट्रसंघले यमनको उत्तरी विद्रोही नियन्त्रित क्षेत्रमा राहत सामग्री पुर्‍याएको छ। साउदी अरब नेतृत्वमा यमनमाथि लगाइएको नाकाबन्दी केही खुकुलो बनाइएपछि पानी जहाजमा राहत सामग्री यमन पुर्‍याएको हो। उत्तरी यमन लाखौ मानिसहरुलाई लक्षित गरी मुख्यतया खाद्य सामग्री संयुक्त राष्ट्रसंघले त्यहाँ पुर्‍याएको हो।

गत शनिबार यमनको राजधानी सानामा औषधी उपचारमा सामग्री बोकेका जहाजलाई अवतरणको अनुमती दिइएको भएतापनि खाद्यान्न बोकेका जहाजलाई अवतरणको अनुमती दिइएको थिएन। खाद्यान्न बोकेको जहाजलाई अवतरणको अनुमती दिइएको नाकाबन्दी पछि नै यो पहिलोपटक हो।

उक्त जहाज उत्तरी यमनका करिब १८ लाख मानिसहरूलाई १ महिनासम्मका लागि खाद्यान्न पुग्ने गरी अवतरण गराइएको विश्व खाद्य संगठनका प्रमुख स्टेफेन  एन्डरसनलाई उद्धत गर्दै बीबीसीले जनाएको छ।

उक्त जहाजले करिब २ साता पश्चात् प्रवेशको अनुमती पाएको थियो। यमनमा मानवीय सहायता रोकिएका कारण कतिपय बालबालिकाहरु कुपोषणको शिकार हुन बाध्य भएका छन्।

साउदी अरेबियामा गरिएको क्षेप्यास्त्र हमलापश्चात् नोभेम्बर ६ देखि यमनमा नाकाबन्दी लगाइएको थियो। यमनमा लडाँई गरिरहेका हुथी विद्रोहीहरूले साउदी अरेबियाको रियादमा क्षेप्यास्त्र प्रहार गरेका थिए।

 

प्रकाशित: १३ मंसिर २०७४ ११:३७ बुधबार

विद्रोही नियन्त्रित क्षेत्रमा राहत सामग्री पुग्दै