अन्तर्राष्ट्रिय

जापान र दक्षिणकोरियाद्वारा अमेरिकाको प्रशंसा

वासिङटन– अमेरिकाले उत्तर कोरियालाई पुन आतंकवादी मुलुकको सूचीमा राख्ने घोषणा गरेपछि अमेरिकाको उक्त निर्णयलाई जापान, तथा दक्षिण कोरियाले स्वागत गरेका छन्। 

औपचारिक रूपमा भएको मन्त्री परिषद्को बैठकमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले उत्तर कोरियालाई पुन आतंकवादी मुलुकको सूचीमा राख्ने घोषणा गरेका हुन्। 

अमेरिकाले इरान, सुडान र सिरियालाई आतंकवादी मुलुकको सूचीमा राखेको थियो । उक्त मुलुकको सूचीमा उत्तर कोरियालाई समावेश गरिएकोमा  सन् २००८ मा तत्कालिन राष्ट्रपति जर्ज डब्लु बुसले उत्तर कोरियालाई उक्त सूचीबाट हटाएका थिए।

उत्तर कोरियालाई  बुस सरकारले उक्त सूचीबाट हटाउनु नै गलत कदम भएको भन्दै राष्ट्रपति ट्रम्पले उत्तर कोरियालाई उक्त सूचीमा पुनः समावेश गरिनुपर्ने बताएका हुन्। 

आतंकवादी मुलुकको सूचीका समावेश गरिएमा उत्तर कोरियामाथि अन्तर्राष्ट्रिय दबाब बढ्ने ट्रम्पको धारणा थियो ।अमेरिकाको उक्त घोषणालाई जापान सरकार तथा दक्षिण कोरियाली सरकारले प्रशंसा गर्दै स्वागत गरेका हुन्। 

अमेरिकाको उक्त कदमले उत्तर कोरियाले आफ्ना परमाणु कार्यक्रमलाई रोक्नलाई एक अवसर भएको अमेरिकाले बताउँदै आएको  छ।

उत्तर कोरियाले परमाणु हातहतियार परीक्षण कार्यलाई निरन्तरता दिइरहँदा कोरियाली प्रायद्वीपमा तनाव उत्पन्न भएको छ । 

प्रकाशित: ६ मंसिर २०७४ ०९:०९ बुधबार

जापान दक्षिणकोरियाद्वारा अमेरिकाको प्रशंसा