अन्तर्राष्ट्रिय

मध्यपूर्वमा आफ्ना नागरिकका लागि सेना र विमान पठाउँदै अस्ट्रेलिया

अस्ट्रेलियाले आफ्ना नागरिकहरूका लागि मध्यपूर्वमा सेना र दुई सैन्य यातायात विमान पठाउन लागेको छ।  

रक्षामन्त्री रिचर्ड मार्ल्सले ‘ठूलो सङ्ख्यामा’ सेना पठाउन लागेको बताए पनि सैन्य सङ्ख्याबारे जानकारी दिएनन्। दुई वटा सी–१३०जे हरकुलस विमान तैनाथ गरिएको उनले बताए।  

उपप्रधानमन्त्री समेत रहेका माल्र्सले विमान र सेना कहाँ आधारित हुनेछन् भन्नेबारे खुलाएनन्। विमानहरूले उक्त क्षेत्रमा पहिला नै सी–१७ए ग्लोबमास्टर यातायात विमान र केसी–३० एयर रिफ्युलर थप्ने बताइएको छ।  

‘मध्यपूर्वमा यदि स्थिति बिग्रँदै गयो भने अस्ट्रेलियाली जनतालाई सहयोग पुर्याउनु यसको उद्देश्य हो’, उनले भने।  

इजराइल–हमास युद्ध अक्टोबर ७ मा गाजापट्टीबाट प्यालेस्टिनी आतङ्कवादी समूह हमासले इजराइलमाथि सुरु गरेको आश्चर्यजनक आक्रमणका कारण सुरु भएको हो। युद्ध सुरु भएपछि दुवैतर्फ हजारौँ नागरिक मारिएका छन्।  

अक्टोबर १३ देखि अहिलेसम्म आठ सयभन्दा धेरै अस्ट्रेलियाली नागरिकलाई इजराइलबाट बाहिर निकालिसकिएको छ। रक्षामन्त्री माल्र्सले सरकारले गाजामा ७९ र पश्चिमकिनारमा ५१ नागरिकलाई सहयोग गर्ने प्रयास गरिरहेको बताए। उनका अनुसार तिनीहरूलाई छोड्न भनिएको छ। रासस

प्रकाशित: ८ कार्तिक २०८० ०८:०३ बुधबार

अस्ट्रेलिया मध्यपूर्व सेना सैन्य यातायात