अन्तर्राष्ट्रिय

क्याटलन नेताको रिहाइको माग गर्दै प्रदर्शन

बार्सिलोना – क्याटालोनियाको स्वतन्त्रताका पक्षधर नेताहरूलाई स्पेन सरकारले थुनामा राखेपछि उनीहरुको रिहाईको मागगर्दै दशौँ हजार क्याटालोनियालीले प्रदर्शन गरेका छन्। 

आइतबारबाट सडक प्रदर्शन सुरु गरेका उनीहरुले सोमबार पनि आफ्ना नेताहरुलाई नियन्त्रणमा लिएको विरोधमा बार्सिलोनामा प्रदर्शन गरेका छन्। 

ती मध्ये केहीलाई प्रहरीले हिजो नियन्त्रणमा लिएको जनाएको छ । ती प्रदर्शनकारीहरुलाई पनि रिहा गरिएको छैन । सोमबार पनि क्याटालोनियालीले स्वतन्त्रता पक्षधर आफ्ना नेताको रिहाइका लागि माग गर्दै प्रदर्शन गरेका हुन् । 

स्वतन्त्रताको पक्षमा जनमतसंग्रहको परिणाम आएको भन्दै क्याटलोनियाको क्षेत्रीय संसद र क्षेत्रीय सरकारले क्याटोलोनियालाई स्वतन्त्र घोषणा गरेको थियो । तर त्यसलाई केन्द्र सरकारले भने मानेको छैन। 

त्यस लगत्तै स्पेनले क्षेत्रीय सरकारलाई निलम्बन गरी प्रत्यक्ष शासन शुरु गरेको थियो। हाल क्याटालोनियाको संसद र सरकार दुवै निलम्बनमा छ। स्पेनले नै सरकार चलाएको छ। 

क्याटलोनियाका आठजना क्षेत्रीय मन्त्री र दुईजना अभियानकर्ता सरकारी थुनामा छन्। उनीहरुको रिहाइको मागगर्दै प्रदर्शनकारीले सोमबार पनि आन्दोलन थालेका छन्। 

स्पेनको कदमपछि क्याटलोनियाका बर्खास्त राष्ट्रपति कारलस पुज्डमोन स्वेच्छाले बेल्जियम निर्वासनमा छन् । उनका अभियानकर्ताहरूमाथि भने मुद्दा चलाइएको छ । 

प्रकाशित: २७ कार्तिक २०७४ ११:२८ सोमबार

क्याटलन नेताको रिहाइको माग गर्दै प्रदर्शन